विराटनगर। अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा विराटनगरमा अपाङ्गता भएका युवाहरूलाई लक्षित गरी जलन सचेतना तथा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। ‘असम्भव भन्ने केही छैन’ भन्ने मूल नाराका साथ लायन्स क्लब अफ विराटनगर रेन्बो, लायन्स क्लब अफ विराटनगर मिड सिटी, लायन्स क्लब अफ विराटनगर गोग्राह र लायन्स क्लब अफ विराटनगर नेक्स्ट जेनेरेसनको संयुक्त आयोजना तथा सहारा नेपाल (थ्री जिरो क्लब) को प्राविधिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। ‘समावेशी समाजको परिकल्पना’ र ‘कोही पनि पछाडि नपरून्’ भन्ने भावनाका साथ आयोजित कार्यक्रममा अपाङ्गता भएका युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा विराटनगर महानगरपालिकाअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको संस्था सामर्थ्य समाज, सामुदायिक पुनर्स्थापना केन्द्र विराटनगर, विभिन्न वडाका मिली-जुली समितिका युवा सदस्यहरू, लायन्स जिल्ला प्रथम उपाध्यक्ष लायन रमेश खत्री, जोन २६ का जोन चेयरपर्सन शिवशंकर मण्डल तथा नोबेल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. विजय साहलगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको पहिलो सत्रमा जलन विज्ञ कैलाश खाकी श्रेष्ठले जलनबाट बच्ने उपाय, प्राथमिक सावधानी र उपचारबारे जानकारी गराउनुभएको थियो भने दोस्रो सत्रमा जेसीआई प्रशिक्षक सबिन अधिकारी र सहारा नेपालकी बिमला गुरुङले आम्दानी-खर्च व्यवस्थापन, बचत र आर्थिक आत्मनिर्भरतासम्बन्धी वित्तीय साक्षरता प्रदान गरे।


आयोजकका तर्फबाट स्थान उपलब्ध गराउने नोबेल अस्पताल परिवारलाई धन्यवाद ज्ञापन गरिएको छ। कार्यक्रममा बोल्दै लायन्स क्लब अफ विराटनगर रेन्बोकी अध्यक्ष लियो लायन आकृति रानी फुयलले अपाङ्गता भएका युवाहरूलाई ज्ञान, सीप र अवसरसँग जोड्दै ‘समावेशी युवा, समावेशी समाज’ निर्माणका लागि उनीहरूको सहभागिता र नेतृत्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।