विराटनगरमा श्रम कार्यालय भवन उद्घाटन, स्वदेशमै रोजगारी सिर्जना गर्ने मन्त्री यादवको प्रतिबद्धता

<span class='c1'>विराटनगरमा श्रम कार्यालय भवन उद्घाटन, स्वदेशमै</span> <span class='c2'>रोजगारी सिर्जना गर्ने मन्त्री यादवको प्रतिबद्धता</span>

सोनु साह
विराटनगर । विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयको नयाँ भवन शुक्रबार उद्घाटन गरिएको छ। विराटनगर महानगरपालिका–३, पुष्पलाल चोकस्थित प्रदेश प्रमुखको निवासनजिक निर्माण गरिएको कार्यालय भवनको संघीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले उद्घाटन गरेका हुन्।

यसअघि आफ्नै भवन नहुँदा भाडाको घरबाट सञ्चालन हुँदै आएको कार्यालय अब आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ। कार्यालयका प्रमुख निरजकुमार देवका अनुसार नयाँ भवन सञ्चालनमा आएसँगै सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउन तथा सेवा विस्तार गर्न थप सहज हुने भएको छ। उनका अनुसार नयाँ भवन सबै सेवाग्राहीका लागि सहज हुने गरी निर्माण गरिएको छ। भवनलाई अपाङ्गतामैत्रीसमेत बनाइएको उनले जानकारी दिए।


भवन उद्घाटनपछि मन्त्री यादवले कार्यालयको अवलोकन गरेका थिए। अवलोकनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नयाँ भवनबाट श्रम तथा रोजगारसम्बन्धी सेवा प्रवाह थप प्रभावकारी र व्यवस्थित हुने विश्वास व्यक्त गरे।

मन्त्री यादवले नेपालभित्रको रोजगारी मर्यादित, सुरक्षित र व्यवस्थित हुनुपर्नेमा जोड दिए। युवाका लागि नेपालको श्रम बजारलाई आकर्षक बनाउने गरी सरकारले काम गरिरहेको उनले बताए। पहिलोपटक श्रम नीति निर्माणको प्रक्रिया अघि बढेको र श्रम ऐन संशोधनको प्रक्रियासमेत अगाडि बढिरहेको उनको भनाइ थियो।

यस वर्षलाई रोजगार प्रवर्द्धन दशकका रूपमा अघि बढाउँदै स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना गरी युवा जनशक्तिलाई राष्ट्र निर्माणमा जोड्ने सरकारको लक्ष्य रहेको मन्त्री यादवले बताए। कृषि, पर्यटन तथा अर्थतन्त्रका विभिन्न क्षेत्रमा रोजगारी सिर्जना गर्ने कार्यक्रमको तयारी व्यापक रूपमा भइरहेको उनले जानकारी दिए।

श्रम कानुनको पालना नगर्ने संस्थालाई कानुनी कारबाहीको दायरामा ल्याइने बताउँदै मन्त्री यादवले रोजगारदातालाई सम्मान र प्रोत्साहन गर्ने नीति पनि सरकारले लिएको बताए। रोजगारदाताहरू जिम्मेवार नभएसम्म र श्रम कानुनको प्रभावकारी कार्यान्वयन नभएसम्म युवाले आफ्नो भविष्य नेपालमै देख्ने आधार कमजोर हुने उनको भनाइ थियो।

मन्त्री यादवले गत आर्थिक वर्षमा श्रमसम्बन्धी क्षेत्रमा गरिएको कामको विवरणसमेत सार्वजनिक गरे। उनका अनुसार सो अवधिमा ३ हजार ८३० वटा प्रतिष्ठानको निरीक्षण गरिएको छ। त्यस्तै, ३ हजार ६३५ वटा बालश्रमसम्बन्धी निरीक्षण, २२० वटा श्रमिक आपूर्तिकर्ता कम्पनीको निरीक्षण तथा ७६१ वटा श्रमसम्बन्धी समस्या समाधान गरिएको छ। आगामी दिनमा पनि सेवामुखी र प्रभावकारी ढंगले कामलाई निरन्तरता दिने प्रतिबद्धता मन्त्री यादवले व्यक्त गरे।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव दीपक काफ्ले, श्रम, रोजगार तथा सामाजिक सुरक्षा विभागका महानिर्देशक चक्रमणि पाण्डे, जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललगायत नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रतिनिधि, कर्मचारी तथा स्थानीय नेता–कार्यकर्ताको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्