विराटनगर । विराटनगरस्थित सिटी प्यालेसमा नेपाल अग्रवाल महिला मञ्चले ‘आयो रङ्गियो साउन’ मेला सुरु गरेको छ। साउन महिना तथा भदौमा मनाइने तीज पर्वलाई लक्षित गर्दै महिलाका लागि आवश्यक श्रृङ्गार, कपडा, घरायसी सामग्री तथा खानाका परिकार एउटै स्थानमा उपलब्ध गराउने उद्देश्यले दुईदिने मेला आयोजना गरिएको हो।
नेपाल अग्रवाल महिला मञ्च र नेपाल अग्रवाल कन्या मञ्चको संयुक्त आयोजनामा सुरु भएको मेलामा ३७ वटा स्टल राखिएका छन्। मेला साउन २९ र ३० गतेसम्म सञ्चालन हुनेछ । नेपाल अग्रवाल महिला मञ्चकी अध्यक्ष वर्तिका खेतानका अनुसार महिलाले उत्पादन गरेका घरेलु तथा हस्तकलाका सामग्रीको बिक्री र प्रदर्शनसँगै महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो। यस्ता मेलाले महिला उद्यमीले उत्पादन गरेका घरेलु वस्तुको बजार विस्तार तथा व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने उहाँले बताउनुभयो। मेलामा महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री, कपडा, किचेनका सामग्री, जुत्ता–चप्पल, श्रृङ्गारका सामग्री तथा विभिन्न खाद्य परिकारका स्टल राखिएका छन्। साउन तथा तीजलाई लक्षित गर्दै खरिदारी गर्न चाहने ग्राहकका लागि मेलाले विभिन्न सामग्री एउटै स्थानमा उपलब्ध गराएको आयोजकले जनाएको छ।
मेलामा व्यापारिक गतिविधिसँगै सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको नेपाल अग्रवाल महिला मञ्च विराटनगरकी सचिव सीमा पोद्दारले जानकारी दिनुभयो। उहाँका अनुसार मेलामा विभिन्न सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत सञ्चालन हुनेछन् । मेलाको उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो। आयोजकले महिला उद्यमी तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।