विराटनगर । श्रम संस्कृति पार्टी विराटनगर महानगर समितिले नगर क्षेत्रमा सरसफाइ अभियानलाई तीव्रता दिएको छ। पार्टीको महानगर कार्यसमितिले शनिबार विराटनगर–११ स्थित पिचडा चोक तथा वडा समिति कार्यालय आसपासको क्षेत्रमा सरसफाइ गरेको हो।

श्रम संस्कृति पार्टी विराटनगर महानगर अध्यक्ष रामप्रसाद राईका अनुसार पार्टीले हरेक शनिबार श्रमको सदुपयोग गर्दै नगरका विभिन्न चोक, धार्मिक स्थल, श्मशानघाट तथा महत्वपूर्ण सार्वजनिक स्थानमा सरसफाइ गर्दै आएको छ।
अध्यक्ष राईले सरसफाइसँगै सार्वजनिक स्थलको संरक्षण र समुदायमा श्रम संस्कृतिको विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए। यसअघि पनि विराटनगरबाट पार्टीको टोली धरानस्थित चिण्डे डाँडामा पुगेर श्रमदान गरी फर्किएको उनले जानकारी दिए।

शनिबार विराटनगर–११ स्थित वडा कार्यालय परिसर तथा आसपासका चोकमा गरिएको सरसफाइ कार्यक्रममा श्रम संस्कृति पार्टीमा आबद्ध पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको सक्रिय सहभागिता रहेको थियो। पार्टीले आगामी दिनमा पनि नगरका विभिन्न क्षेत्रमा नियमित रूपमा श्रमदान तथा सरसफाइ अभियान सञ्चालन गर्ने जनाएको छ ।