प्रेम देवान
विराटनगर । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने राधाकृष्ण रथयात्रा धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको भव्य उत्सवको रुपमा मानिदै आएको छ । रथयात्राका दिन विराटनगरका सडकमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । राधाकृष्ण मन्दिर तीनपैनीबाट निकालिएको रथले करिब ९ किलोमिटर नगर परिक्रमा गरेपछि पुनः मन्दिर परिसरमै ल्याएर राख्ने गरिएको छ ।
३६५ दिनमध्ये एक दिन विराटनगरको यो ऐतिहासिक रथलाई बेहुलीझैँ सिँगारिन्छ । आकर्षक ढंगले सजाइएको रथ दर्शन गर्न भक्तजनको ठूलो भीड लाग्ने गर्छ । तर, रथयात्रा सकिएपछि भने यही रथको संरक्षण र व्यवस्थापनको विषयमा प्रश्न उठ्ने गरेको छ । गत वर्षदेखि विराटनगर महानगरपालिकाले पुरानो र जीर्ण रथ हटाएर नयाँ स्वरूपको रथ निर्माण गरेको छ । नयाँ रथ पहिलेको तुलनामा आकारमा समेत ठूलो र आकर्षक छ । रथका विभिन्न पाटपुर्जा तथा काठका संरचनालाई कलात्मक ढंगले निर्माण गरिएको छ ।
तर, नयाँ रथलाई सुरक्षित रूपमा राख्ने स्थायी संरचना नहुँदा संरक्षणमा चुनौती थपिएको छ । यसअघिको पुरानो रथ राख्न टिनको छानोसहितको रथघर रहेको थियो । नयाँ रथ निर्माण भएपछि भने त्यसलाई स्थायी रूपमा राख्ने व्यवस्थित रथघर निर्माण हुन सकेको छैन । हाल रथलाई सामान्य बाँसको संरचना र त्रिपालले छोपेर खुला आकाशमुनि राखिएको छ । वर्षायाममा घाम, पानी, धुलो तथा चिस्यानका कारण रथका काठ तथा अन्य संरचना बिग्रने जोखिम बढेको छ ।
राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैशाल रेग्मीले वर्षायामका कारण रथमा घाम, पानी र धुलोको समस्या हुन नदिन बीच–बीचमा रथको सरसफाइ तथा रेखदेख गर्दै आएको समेत बताउनुभयो । अहिले तत्कालको लागि स्थायी रथ घर निर्माण गर्न नसकेको कारण केही समस्या चाही देखिएको उहाँले बताउनुभयो । विराटनगर महानगरपालिकाले गत वर्ष नयाँ र आकर्षक रथ निर्माण गरिदिएको भन्दै अब त्यसलाई सुरक्षित रूपमा राख्न स्थायी रथघर निर्माण गर्ने आश्वासनसमेत पाएको रेग्मीले बताउनुभयो । नयाँ रथको लागी स्थायी रुपमा रथ घर निर्माण भयो भने सय बर्ष सम्म टिक्न सक्ने रेग्मीले दावी गर्नुभयो ।
गत वर्षदेखि प्रयोगमा आएको नयाँ रथको उचाइ २१ फिट ३ इन्च, चौडाइ १४ फिट, लम्बाइ १९ फिट रहेको छ । त्यसैगरी जुवाको भाग ८ फिट रहेको छ । विराटनगरको पहिचानसँग जोडिएको राधाकृष्ण रथ केवल एउटा धार्मिक सामग्री मात्र होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा ऐतिहासिक धरोहर पनि हो । वर्षमा एक दिन लाखौँ भक्तजनले दर्शन गर्ने यस रथलाई वर्षभरि सुरक्षित राख्न स्थायी रथघर, नियमित सरसफाइ र उचित संरक्षण आवश्यक देखिन्छ ।