विद्युत् सर्ट हुँदा लेटाङका टिंका धितालको ५ करोडको पसलमा आगलागी

<span class='c1'>विद्युत् सर्ट हुँदा लेटाङका टिंका</span> <span class='c2'>धितालको ५ करोडको पसलमा आगलागी</span>

सोनु साह,
विराटनगर । मोरङको लेटाङ नगरपालिका–७ वारणी निवासी टिका धितालले करिब १४ वर्षअघि जम्मा १ हजार ५ सय रुपैयाँबाट सानो किराना पसल सुरु गरेका थिए। आर्थिक अवस्था कमजोर भए पनि ठूलो सपना बोकेका धितालले वर्षौंको मेहनत, संघर्ष र लगानीबाट आफ्नो व्यवसायलाई विस्तार गर्दै लगे। त्यही सानो पसल अहिले करिब ५ करोड रुपैयाँ बराबरको व्यवसायमा परिणत भएको थियो।

किराना सामानसँगै श्रृंगार, स्टेसनरी तथा विभिन्न खुद्रा सामाग्री बिक्री गर्दै आएका धितालले आफ्नो व्यवसायलाई अझ व्यवस्थित बनाएर मिनी मार्टमा परिणत गर्ने योजना बनाएका थिए। त्यसका लागि उनले नयाँ संरचना तयार पारिसकेका थिए र आगामी दसैँदेखि मिनी मार्ट सञ्चालनमा ल्याउने तयारीमा थिए।

तर, साउन २४ गते आइतबार उनको जीवनकै सबैभन्दा पीडादायी दिन बन्यो। दिउँसो करिब १ बजेको समयमा उनी आफ्नै पसलको काउन्टरमा बसेका थिए। पसलको माथिल्लो भागमा जडान गरिएको विद्युत सर्ट भएपछि आगलागी भयो । सुरुमा आगो लागेको थाहा नपाएका धितालले फैलिसकेपछि मात्रै त्यसबारे जानकारी पाएका थिए। आगो फैलिन थालेपछि स्थानीय छिमेकीहरू पानी लिएर आगो नियन्त्रणमा लिन पुगे। प्रहरी र दमकलसमेत घटनास्थलमा पुगे। तर पसल माथिल्लो तलामा रहेका कारण दमकलबाट प्रभावकारी रूपमा आगो नियन्त्रण गर्न कठिन भएको बताइएको छ। स्थानीय, प्रहरी तथा दमकलको टोलीले लामो समयसम्म प्रयास गरे पनि आगो नियन्त्रणमा आउन सकेन।

आगोले पसलमा रहेका अधिकांश सामान तथा संरचना जलेर नष्ट भएका छन्। वर्षौंको मेहनत र जीवनभरको कमाइ व्यवसायमै लगाएका धितालका लागि यो घटना केवल पसल जलेको घटना मात्र नभई वर्षौंको सपना नै खरानी भएको पीडादायी क्षण बनेको छ।
“मैले जीवनको सबै कमाइ यही पसलमा लगाएको थिएँ। मेरो जीवन जिउने एउटा मात्रै सहारा यही व्यवसाय थियो। अहिले मसँग केही पनि बाँकी रहेन,” धितालले पीडा सुनाए। उनका अनुसार आगलागीबाट पसलसँगै घरसमेत प्रभावित भएको छ। “अहिले न मसँग पसल छ, न घर। सबै दैवले खोसेजस्तो भएको छ,” उनले भावुक हुँदै भने।

आगलागीबाट ठूलो क्षति व्यहोरेका धिताल आर्थिक रूपमा कमजोर रहेकाले पुनः व्यवसाय सुरु गर्न कठिन हुने बताउँछन्। उनले आफूलाई पुनः उठ्नका लागि स्थानीयवासी, व्यवसायी तथा सहयोग गर्न सक्ने सबैसँग आर्थिक सहयोगको अपिल गरेका छन्।
धितालका अनुसार स्थानीय तहले आफ्नो कार्यविधिअनुसार १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। तर, करिब ५ करोड रुपैयाँ बराबरको सम्पत्ति तथा व्यवसाय गुमाएका उनलाई उक्त सहयोगले मात्रै पुनः व्यवसाय सञ्चालन गर्न कठिन हुने अवस्था छ।
सानो लगानीबाट सुरु गरेर वर्षौंको मेहनतमा ठूलो व्यवसाय निर्माण गरेका धितालको सपना एकै दिन आगोले खरानी बनाइदिएपछि अहिले उनी पुनः शून्यबाट आफ्नो जीवन र व्यवसाय सुरु गर्ने चुनौतीमा छन्। स्थानीयवासीले समेत उनको पीडामा साथ दिँदै सकेको सहयोग गर्नुपर्ने अवस्था देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्