विराटनगर । विराटनगर महानगरपालिका-८ स्थित जिल्ला कारागार मोरङमा आज बिहानैबाट खानतलासी सुरु भएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाललगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा कारगारमा बिहान ४:३० बजेदेखि खानतलासी सुरु भएको हो।
लागुऔषध लगायतका अवैध वस्तु राख्ने गरिएको जानकारी पाएपछि सुरक्षाकर्मी परिचालन गरेर खानतलासी गरिएको हो। एसपी कटवालले यो खानतलासी नियमित भएको बताए। यो समाचार तयार पार्दासम्म कारागारबाट कुनै अवैध वस्तु फेला परेको जानकारी भने छैन।
खानतलासीसँगै कारागारका केही कैदीबन्दीको स्थानान्तरणको तयारी गरिएको थियो। विशेष गरेर आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग निकट रहेकाहरूलाई अन्यत्र कारागारमा सार्न खोजिएको सुरक्षा स्रोतले बतायो। स्रोतका अनुसार कारागारभित्र रहेर अभिषेक गिरीलाई सहयोग गरिरहेका १५ जना भन्दा बढी कैदीबन्दीलाई सार्न खोजिएको छ। तर, कारागारमा खानतलासी सुरु भएसँगै बी ब्लकका कैदीबन्दी आन्दोलित भएका छन्। खानतलासीसँगै कैदीबन्दीको स्थानान्तरण गर्ने तयारी भइरहेको बुझेपछि त्यसको विरोधमा उनीहरु प्रदर्शन र नाराबाजीमा उत्रिएका हुन्। उनीहरु कारागारभित्रै आगो बालेर विरोधमा उत्रिएका थिए। तर, दमकलको सहयोगमा आगो निभाइएको थियो।