विराटनगर । गत साउन १८ गते सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनी टंकीका प्रहरी उपरीक्षक गेहेन्द्र भण्डारीले विराटनगर एयरपोर्टतर्फ लैजादै गरेको ६ बोरा लत्ताकपडा नियन्त्रणमा लिए । विमानस्थलबाट उक्त लत्ताकपडा काठमाण्डौं पठाउन लागिएको थियो ।
भन्सार जाँचपास नभएको तर बिक्री बील भएको उक्त सामान बरगाछीका अमर जलान (बब्लु अग्रवाल) को रहेको खुलेको थियो । प्रदेश १–०२–००२ ह ९६८१ नम्बरको अटोसहित कपडा बरामद भएको थियो । छ वटा सेतो बोरामा राखेर यो कपडा काठमाण्डौं पठाउन एयरपोर्ट लगिएको बेला पक्राउ परेको थियो । सशस्त्र प्रहरीले यस्तो कार्य पहिले पनि गर्दै आएको थियो । तर, अहिलेको कारवाही फरक छ । पहिला सीमा कटाएको थाहा पाएपनि यसो सेटिङका कुरा मिलेपछि सामान सहजै खरिद बिक्री हुन्थ्यो । भन्सार जाँचपास गराएको होस वा नहोस् मतलब थिएन । अहिले भन्सार जाँचपास गराउनु पर्ने दवाव दिएको देखिन्छ । त्यो पनि पहिले जोसँग सेटिङमा कारोबार खुल्ला हुन्थ्यो, उनीहरु नै तारो बनिरहेका छन् ।
बुधबार विराटनगर–१४ मा सुरेश यादवको घरबाट सशस्त्र प्रहरीले रजनीगन्धा नियन्त्रणमा लियो । बकाइदा ब्यागमा प्याक गरेको रजनगन्धा सीमा क्षेत्रबाट कटाइएको थियो । सुरेश यादव र सवनम खातुनले पार्टनरमा अवैध आयातको कारोबार गर्दै आएका छन् । त्यसैले यादवको घरमा प्रहरीले छापा हान्दा खातुनले समेत प्रतिवाद गर्नु स्वभाविक थियो । यादवको घरबाट खाली ब्याग एकसय थान बरामद गरिएको भएपनि रजनीगन्धा भएको चारवटा मात्रै थिए । सशस्त्रका प्रहरी उपरीक्षक (एसपी) भण्डारीका अनुसार जताबाट कटाएर ल्याएको भएपनि सूचना पाएपछि भन्सार छलेका सामान नियन्त्रणमा लिने काम हुनेछ । त्यहि कारवाही अनुसार यादवको घरमा प्रहरीले छापा हानेको हो । यस अगाडी बब्लुको सामान पनि त्यसरी नै नियन्त्रणमा परेको थियो ।
तर, सशस्त्र प्रहरीको तस्करी नियन्त्रणको यो कारवाही भने आफैंमाथि भोगेको कारवाहीको आवेश जस्तै हो । यस अगाडी घुमुवा राखेर तस्करी गर्नेहरुसँग सेटिङ हुन्थ्यो । झापा, मोरङ र सुनसरीबाट हुने तस्करीको धन्दाको पैसा माथिसम्मनै पुगेको सूचनाका आधारमा झापा र सुनसरीका एसपी, डिएसपी, प्रहरी निरीक्षकसहित सई, असई, हवल्दार, जवान समेत गरेर झण्डै २० जना यस अगाडी हेडक्वाटरमा तानिएका छन् । तानिएकामध्ये एसपीहरुको स्थान परिवर्तन गरेर जिम्मेवारी तोकिएको छ । एकजनालाई निलम्बन नै गरिएको छ । निलम्बनमा पर्ने सशस्त्रका हवल्दार गणेश खड्काले गाँजा कारोबारीसँग मिलेर सीमा कटाउन सहयोग गरेको आरोप समेत लाग्दै आएको थियो । अहिले उनको खाताबाट करोडौंको रकम माथिल्ला तहका प्रहरीसम्म पुगेको देखिएपछि उनी निलम्बनमा परेका छन् । त्यस बाहेक तस्करीसँग जोडिएकाहरुमाथि अनुसन्धान समेत भइरहेको छ ।
त्यहाँबाट झस्केपछि मोरङमा भने अहिले सीमा कडाई छ । यद्यपी सादा पोशाकमा समेत केहि व्यक्ति भने राखिएको छ । सीमा क्षेत्रका नाका बाँडेर यस अगाडी सशस्त्रसँगको सेटिङमै तस्करी हुँदै आएको आरोप छ । यो आरोप नागरिकले मात्रै नभई भन्सार कार्यालयका प्रमुखले समेत लगाउने गरेका थिए । अवैध आयात र राजश्व चुहावट नियन्त्रणमा प्रहरी प्रशासनका असहयोग भईरहेको भन्दै धेरै पटक भन्सार कार्यालयका प्रमुखले आफ्नो गुनासो पोख्ने गरेका थिए । अहिले पनि सशस्त्रले चौतर्फी निगरानी बढाएको छ । यद्यपी भारतमा उत्पादन भएका मालवस्तु कुन बाटो भएर बजारका पसलसम्म आइरहेका छन भन्ने यकिन भने हुन सकेको छैन । भन्सार जाँचपास नै नहुने सामाग्री समेत विराटनगरका पसलमा पाइन्छ । रजनीगन्धा समेत भन्सार जाँचपास भएर आउँदैन ।
सशस्त्रले तस्करहरुले नाका बाँडेर आ–आफ्नो क्षेत्रबाट कारोबार गर्दै आएका छन् । पछिल्लो समय कडाई भएपछि पहिलाको जस्तो देखादेखी संभव भएको छैन । प्रहरीका दुवै निकाय नेपाल प्रहरी र सशस्त्रले जिल्लादेखि इलाकासम्म सादा पोशाकका भने सीमा अवैध व्यापार हेर्ने गरी परिचालन अहिले पनि गरिरहेको छ । मोरङमा ६३ किलोमिटर खुल्ला सीमा छ । जसमध्ये दरैया, मटेर्वा, इस्लामपुर, भेडियारी, भुटाहा, नोचा, डुमरिया, खयरबोना, सिक्टी र चोप्राहाबाट राती तस्करी हुने गरेको छ । ठ्याक्कै राती १० बजेदेखि बिहान ४ बजेसम्म सीमा कारोबार हुँदै आएको दावी अहिले पनि गरिएको छ । यो सिस्टम आउनु अगाडी साँझ परेदेखि तस्करी हुन्थ्यो ।