सोनु साह
विराटनगर । पेट्रोलमा मिसावट भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा विराटनगरका पेट्रोल पम्पहरूमा छड्के अनुगमन तीव्र पारिएको छ। गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता कार्यालयलगायतका निकायको संयुक्त टोलीले पेट्रोल पम्पहरूको गुणस्तर तथा नापतौल परीक्षण गरिरहेको हो।
पछिल्ला केही दिनयता पेट्रोलमा मिसावट तथा गुणस्तरसम्बन्धी व्यापक गुनासो आएपछि विराटनगरका अधिकांश पेट्रोल पम्पमा अनुगमनलाई तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
अनुगमनका क्रममा टोलीले पेट्रोलको गुणस्तर, नापतौल तथा बिक्री वितरणको अवस्थाबारे परीक्षण गरिरहेको छ। सोमबार राति विराटनगरको शनिमन्दिर नजिक रहेको पूर्वाञ्चल आयल सप्लायर्समा समेत टोलीले अनुगमन गरेको थियो। अनुगमनका क्रममा गुणस्तरमा कमी देखिएपछि उक्त पम्पमा तत्काल सिलबन्दी गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ।
यसै हप्ता मात्रै संयुक्त अनुगमन टोलीले विराटनगरका पाँचवटा पेट्रोल पम्पमा अनुगमन गरिसकेको छ। सोमबार रातिको अनुगमनसहित हालसम्म पाँचवटा पम्पमा परीक्षण गरिएको हो। बुधवार मात्रै तीनवटा पेट्रोल पम्पमा अनुगमन गरिएको टोलीले जनाएको छ।
अनुगमन गरिएका पछिल्ला तीनवटा पेट्रोल पम्पमा भने कुनै किसिमको कैफियत नभेटिएको टोलीले जनाएको छ। गुणस्तर तथा नापतौलमा समस्या नदेखिएका पम्पलाई तत्कालका लागि ‘क्लिन चिट’ दिने गरिएको छ।
पेट्रोलमा मिसावटको गुनासो बढेसँगै उपभोक्ताको हित र पेट्रोलियम पदार्थको गुणस्तर सुनिश्चित गर्न विराटनगरका अन्य पेट्रोल पम्पमा समेत अनुगमन जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।