विराटनगर। विराटनगर बास्केटबल एकेडेमी (बीबीए) को आयोजनामा जारी ‘सातौँ बीबीए कप अन्तरविद्यालय होम एन्ड अवे बास्केटबल लिग’ अन्तर्गत सम्पन्न पछिल्ला लिग चरणका खेलहरूमा सगरमाथा, सेन्ट जोसेफ र एभरेस्ट स्कुल विजयी भएका छन्। सम्पन्न १० देखि १४ औँ म्याचसम्म आइपुग्दा टोलीहरूले फराकिलो जितका साथै निकै रोमाञ्चक प्रदर्शन गरेका छन्।
प्रतियोगिताको १० औँ म्याच (छात्रतर्फ) मा सगरमाथा स्कुलले दिल्ली पब्लिक स्कुलमाथि ११५–२३ अङ्कको एकपक्षीय र फराकिलो जित हासिल गर्यो। सगरमाथाका लागि ३० अङ्कको योगदान दिएका अमित यादव ‘म्यान अफ दि म्याच’ घोषित भए। त्यस्तै ११ औँ म्याच (छात्रातर्फ) मा सेन्ट जोसेफ स्कुलले सगरमाथा स्कुललाई ५४–१९ अङ्कले सहजै पराजित गर्यो। सेन्ट जोसेफको जितमा व्यक्तिगत ३२ अङ्क जोडेकी भावना काब्रा ‘वुमन अफ दि म्याच’ भइन्। अत्यन्तै रोमाञ्चक बनेको १२ औँ म्याच (छात्रतर्फ) मा सेन्ट जोसेफ स्कुलले शिक्षादीप स्कुललाई ५५–५२ को झिनो ३ अङ्कको अन्तरले हरायो। हारका बाबजुद टोलीका लागि १० अङ्क जोड्दै उत्कृष्ट प्रदर्शन गरेका शिक्षादीपका सुजन कार्की खेलको ‘म्यान अफ दि म्याच’ चुनिए।
यसैगरी १३ औँ म्याच (छात्रातर्फ) मा एभरेस्ट स्कुलले एरागन स्कुललाई २३–१२ अङ्कले पराजित गर्दै अङ्क तालिका सुधार गर्यो। एभरेस्टको जितमा ८ अङ्क जोडेकी अन्वेषा श्रेष्ठ ‘वुमन अफ दि म्याच’ घोषित भइन्। प्रतियोगिताको १४ औँ म्याच(छात्रतर्फ) मा पुन: सगरमाथा स्कुलले आक्रामक प्रदर्शन जारी राख्दै कोबास स्कुललाई १३१–२३ को विशाल अङ्क अन्तरले स्तब्ध बनायो। सगरमाथाका लागि २१ अङ्क जोड्दै उत्कृष्ट खेल देखाएका प्रवेज आलम ‘म्यान अफ दि म्याच’ घोषित भए।