विराटनगर । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) को १२औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा देशभरका कानुन व्यवसायीमाझ चुनावी तथा साङ्गठनिक गतिविधि तीव्र बनेको छ। आगामी भदौ १९ र २० गते रूपन्देहीको बुटवलमा हुने महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी वरिष्ठ अधिवक्ता भरतबहादुर थापाले देशव्यापी चुनावी अभियानलाई तीव्रता दिएका छन्।
नेपाल बार काउन्सिलका पूर्व पार्षद, मोरङ बारका पूर्व अध्यक्ष तथा डिएलएमा विभिन्न जिम्मेवारी सम्हालिसकेका थापाले ‘सशक्त सङ्गठन, सक्रिय नेतृत्व र साझा जिम्मेवारी’ भन्ने नारासहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
सर्वोच्च अदालतदेखि मोरङअदालतसम्म वकालत गर्दै आएका थापा कानुन व्यवसायसँगै कृषि उद्यम तथा सामाजिक क्षेत्रमा समेत सक्रिय छन्। उनी यतिबेला मेचीदेखि महाकालीसम्मका जिल्ला तथा उच्च डिएलए इकाईमा पुगेर प्रतिनिधि तथा कानुन व्यवसायीसँग भेटघाट र छलफलमा व्यस्त छन्।
थापाले डिएलएलाई काठमाडौँकेन्द्रित संरचनाबाट बाहिर निकाल्दै देशभरका कानुन व्यवसायीको साझा, समावेशी र सशक्त संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मोफसलका कानुन व्यवसायीले भोग्दै आएका पेसागत असुरक्षा, क्षमता अभिवृद्धि तथा प्रविधिको पहुँच अभावलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ।
अध्यक्ष पदका प्रत्याशी थापाले महाधिवेशनलाई लक्षित गर्दै १० बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। जसमा नवप्रवेशी कानुन व्यवसायीका लागि ‘आरम्भ’ कार्यक्रममार्फत मेन्टरसिप, आर्थिक स्थिरता र व्यावहारिक दक्षता तालिम सञ्चालन गर्ने योजना अघि सारिएको छ।
त्यस्तै डिएलए सदस्यका लागि सहुलियत प्रिमियममा स्वास्थ्य तथा दुर्घटना बीमा, आजीवन सदस्य तथा वरिष्ठ कानुन व्यवसायीको सम्मान, जिल्ला तथा उच्च डिएलए इकाईलाई निर्णय प्रक्रियामा स्वायत्त र आत्मनिर्भर बनाउने प्रतिबद्धता पनि थापाको सङ्कल्पपत्रमा समेटिएको छ।
सातै प्रदेशमा स्थायी प्रशिक्षण केन्द्र स्थापना गरी कानुनी अनुसन्धान, फैसला विश्लेषण तथा मस्यौदा लेखनसम्बन्धी तालिम सञ्चालन गर्ने, सदस्यता आवेदनदेखि नवीकरण र डिजिटल परिचयपत्रसम्मका सेवा उपलब्ध गराउन ‘डिजिटल डिएलए’ तथा मोबाइल एप सञ्चालन गर्ने योजना पनि उनले अघि सारेका छन्।
दूरदराजमा कार्यरत कानुन व्यवसायीलाई सर्वोच्च अदालतका नजिर तथा अन्तर्राष्ट्रिय कानुनी फैसलासहितको डिजिटल पुस्तकालयमा पहुँच पुर्याउने र काठमाडौँमा अत्याधुनिक केन्द्रीय कार्यालय भवन निर्माणको प्रक्रिया अघि बढाउने उनको प्रतिबद्धता छ।
त्यसैगरी अस्वस्थ गुटबन्दी, राजनीतिक भागबण्डा तथा बाह्य हस्तक्षेपविरुद्ध अडान लिँदै डिएलएलाई स्वायत्त रूपमा सञ्चालन गर्ने तथा स्वतन्त्र न्यायपालिका, विधिको शासन र मानव अधिकारको संरक्षणका लागि रचनात्मक कार्यक्रम सञ्चालन गर्ने थापाले बताएका छन्।
आफ्नो उम्मेदवारी व्यक्तिगत आकाङ्क्षाभन्दा संगठनको संस्थागत रूपान्तरण र कानुन व्यवसायीको आत्मसम्मानसँग जोडिएको थापाको दाबी छ। उनले नारा र भाषणभन्दा ठोस परिणाममा विश्वास गर्ने भन्दै महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न कानुन व्यवसायीलाई आग्रह गरेका छन्।
आगामी भदौ १९ र २० गते बुटवलमा हुने १२औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि थापाको उम्मेदवारीसँगै डिएलएको चुनावी गतिविधि थप रोचक बनेको छ।