विराटनगर । रानी नाकाबाट औपचारिक रुपमै प्रवेश पाउने अवैध आयातलाई स्थानीय प्रशासनले कडाई गरेपछि त्यसको प्रतिक्रियास्वरुप सहायक नाकाबाट तस्करी मौलाएको छ । स्थानीय प्रशासनले रानी नाका आसपासका घरका ढोका टालिदिएको छ । मुख्य नाकामा प्रशासनिक निगरानी कडाई छ । यति कडाई हँुदा समेत मालवस्तु भन्सार नपुगि बजारमा पर्याप्त आइरहेका छन् । जसमा सीमा क्षेत्रबाट हुने तस्करी जारी रहेको स्पष्ट संकेत देखिन्छ ।
मोरङमा ६३ किलोमिटर खुल्ला सीमा रहेको छ । जसमा रतुवामाईको झुर्किया, सुनवर्षीको सिक्टी, रंगेलीको चोप्रा, धनपालथानको खयरबोना र नोचा, जहदाको तारिगामा र डुमरिया अहिले मौलाएको छ । डुमरियामा लाइन चलाउन सचिन साहसहितको सीमा नजिकै घर पसल र गोदाम रहेको छ । हेर्दा औपचारिक देखिएपनि कारोबार कानुनी छैन । तर, साह कुनैबेला सशस्त्रको खाद्यन्न आपूर्तिकर्ता थिए । अहिले पनि कतै गरिरहेका छन् भने कतै छोडिसकेको बताउँछन् ।
उनले डुमरियाबाट अहिले आफूले कारोबार छोडेर सिधै विराटनगरमा मात्रै सिमित रहेको दावी गरेका छन् । नेपाल प्रहरीमा समेत अर्काले लिएको ठेक्काबाट हिस्सा लिएर सामान आपूर्ति गर्ने गर्दै आएका साहले गैरकानुनी तवरको कारोबार नहुने गरेको जिकीर गरेका छन् । यस्तै नोचाबाट श्रवण साह समूहले लाइन चलाइरहेको खुलेको छ । रंगेलीतर्फ सुमन साहसहितको अन्य समूह रहेको छ । यता धनपालथानको खयरबोनाबाट जयप्रकाश साहको लाइन अबिराम चलिरहेको छ । लाइन चलाउनेहरुको टाइम भने फरक परेको छ । त्यहि फरक पराइका कारण भेडियारीमा प्रहरीसँगको सेटिङमा सामान भित्र्याउनेहरुलाई स्थानीयले चोर भनेर धुलाइ दिएका थिए । त्यहाँबाट गणेश साहसहितको टोलिले सामान भित्र्याउँदै आएको खुलेको छ ।
विराटनगर महानगरपालिका भित्र इस्लामपुर, मटेरवा र दरैया नाकाबाट राती लाइन चलिरहेको छ । स्थानीयले लाइन चलाउनेहरु समूहको रात्रीकालिन फोटो भिभिडो पठाएपनि पोष्ट नगरीदिन अनुरो गर्ने गरेका छन् । यी नाका प्रदेश प्रहरी कार्यालय नजिकै रहेपनि चाडपर्व लक्षित लाइन चल्ने गरेको पाइएको छ । डिआईजी कार्यालयकै सिंगल नपाउँदासम्म विराटनगरको सीमा क्षेत्रबाट लाइन चल्दैन ।
बुधनगरको भेडियारी नाकाबाट यस अगाडी सुपारी र स्याउको कारोबार हुँदै आएको थियो । अहिले भने कपडा तथा खाद्यन्न र अन्य सामाग्री भित्रन थालेको छ । लाइन चल्ने मामलामा सुनसरीबाट संस्थागत नै हुने गरेको थियो । कप्तानगञ्ज घटनापछि त्यहाँ लाइन चलाउने मेसो मिलिरहेको छैन । यद्यपी त्यो आन्दोलनमा लाइन चलाउनेहरुको बोलवाला बढी नै देखिन्थ्यो । सुनसरीको साहेबगञ्ज, कप्तानगञ्ज, छिटाहा, भूटाहा र अमडुवासहितका नाकाबाट प्रहरीसँगको सेटिङमै लाइन चलिरहेको दावी गरिन्छ । विराटनगरका व्यापारीले स्याउ आयात गरेर भारत कटाउने नाकामा सुनसरीका बढी पर्ने गरेका थिए । पछिल्लो सयम भने भारत पठाउन यी नाका छोडेर झापा र इलामलाई रोजेको खुलेको छ । त्यस बाहेक सिराहा र सप्तरीबाट पठाउने गरिएको छ ।
सशस्त्रले दुईदिन अगाडी विराटनगर १४ का सुरेश–सवनमको घरमा छापा हानेको थियो । जहाँ बाट चार झोला रजनीगन्धा बरामद भएको थियो । तर उनीहरुको तस्करी गरेर ल्याएको सामान स्टोर गर्ने गोदाम भने जलजलाचौक र हाइवे पश्चिम रहेको खुलेको छ । सशस्त्रले पाएको सूचना सहि भएपनि लोकेशनसहि नहुँदा साझेदारीमध्येका सुरेश मात्रै नियन्त्रणमा परेका थिए । त्यसपछि सवनमले यी सबै मामलाको माइक्रो म्यानेजमेन्ट गरिरहेको खुलेको छ । सशस्त्रले यस अगाडी विराटनगर एयरपोर्ट लैजादै गरेको कपडा बरामद गरेको थियो ।