विराटनगर । सशस्त्र प्रहरी बलले विराटनगर १४ स्थित घरमा छापा हानेर अवैध रजनीगन्धासहित नियन्त्रणमा लिएको सुरेश यादवलाइ विराटनगर भन्सारले तीन दिन थुनामा राख्यो । बरामद सामान बराबरको धरौटी वापतको रकम साढे तीन लाख आसपास कायम भएको थियो ।
धरौटी बुझाएपछि थुनामा रहेका व्यक्ति छुट्छन् । तर, भन्सारले यादवलाइ यसरी बाध्यात्मक स्थिति सिर्जना गरिदियो, अतिरिक्त रकम नबुझाइकन उनी थुनामुक्त नै भएनन् । शुक्रबार धरौटी वापतको तीन लाख ३८ हजार ४०० र थप १ लाख ५० हजार बुझाएपछि मात्रै उनलाइ छोड्ने पत्र बन्यो । त्यहि पत्रका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट हिरासतमुक्त बनेका थिए ।
यादवसँग अतिरिक्त रकम असुल्ने तारतम्य भने सौरभ धाडेवालले मिलाएको आरोप छ । उनी विराटनगर भन्सारका सुरक्षित बिचौलिया रहेको दाबी छ ।
धाडेवा बरामद सामाग्रीको भन्सारबाट लिलाम बुझ्ने काम गर्दछन् । उनले यादव छोड्ने मामलामा भूमिका नरहेको बताए ।
यता विराटनगर भन्सार मुद्दा फाँटका नासु अजय जैसवालले भने कुनै मोलाइजा नभएको दाबी गरे । उनले मूल्याङ्कन प्रतिवेदन तयार गर्नुपूर्वका कार्यले ढिलाइ भएको बताए ।
तर, शुक्रबार समेत अबेरसम्म अल्झाएपछि यादव ढेडलाख दिन तयार भएका थिए । उनको धरौटी रकम सशस्त्रले बुझाउँदा नै खुलेको थियो । बुधबार नै छुट्न चाहेपनि रोकियो, बिहीबार पनि रोकियो अनि शुक्रबार रोक्दा शनिबार र आइतबार समेत थुनिने भएपछि धरौटी बाहेक पनि उनी पैंसा बुझाउन बाध्य भएका थिए । यस विषयमा यादवसँग बुझ्न खोज्दा फोन उठाएनन् । तर, दिनभर सौरभ र सबनमबीच लेनदेन ड्रिल भएको थियो ।