विराटनगर । कोशी राजमार्गअन्तर्गत विराटनगरको रानी बोर्डरदेखि कञ्चनबारीसम्म रहेका अनावश्यक ‘क्रस–इन्टरसेक्सन’ बन्द गरिने भएको छ। जथाभावी सडक काट्ने प्रवृत्तिका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएपछि आवश्यक स्थानबाहेकका क्रस–इन्टरसेक्सन हटाउन लागिएको हो।
जिल्ला प्रशासन कार्यालय मोरङमा सडक डिभिजन कार्यालय, यातायात व्यवस्था विभाग, जिल्ला ट्राफिक प्रहरी कार्यालयलगायत सरोकारवाला निकायबीच भएको छलफलपछि रानीदेखि कञ्चनबारीसम्म अनावश्यक क्रस–इन्टरसेक्सन बन्द गर्ने निर्णय गरिएको हो।
यसअघि सडक डिभिजन कार्यालय विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङसँग समन्वय गरी पहिलो चरणमा रोडशेष चोकदेखि बरगाछीसम्मका ११ वटा अनावश्यक क्रस–इन्टरसेक्सन बन्द गरिसकेको छ। बन्द गरिएका स्थानमा हाल प्लास्टिकका ट्राफिक कोन राखिएको छ।
सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनियर प्रभातकिरण राईका अनुसार जथाभावी क्रस–इन्टरसेक्सन हुँदा सवारी चालकले मनलाग्दी रूपमा सडक पार गर्ने र विपरीत दिशाबाट आउने सवारीसाधनसँग ठोक्किने जोखिम बढ्ने गरेको छ। त्यसैले दुर्घटना न्यूनीकरणका लागि आवश्यक स्थानमा मात्र क्रस–इन्टरसेक्सन कायम गर्न लागिएको हो।
राईका अनुसार ६ लेन सडक निर्माणका क्रममा भएको सहमतिअनुसार नै कोशी राजमार्गमा क्रस–इन्टरसेक्सन व्यवस्थापन गरिनेछ। रानी बोर्डरदेखि कञ्चनबारीसम्म आवश्यक स्थानमा मात्र सवारीसाधनले सडक पार गर्न मिल्ने व्यवस्था गरिने उनले बताए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका ट्राफिक प्रमुख सन्तोष न्यौपानेले अनावश्यक क्रस–इन्टरसेक्सन हटाएर ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन सके सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए। सवारीसाधनको चाप निरन्तर बढिरहेको अवस्थामा जथाभावी सडक काट्ने प्रवृत्ति नियन्त्रण गर्न आवश्यक रहेको उनको भनाइ छ।
तर, केही स्थानका क्रस–इन्टरसेक्सन बन्द गरिँदा सवारी चालक तथा स्थानीयवासीलाई अनावश्यक झन्झट भएको गुनासोसमेत आएको छ। विशेषगरी अस्पताल र पेट्रोल पम्पमा प्रवेश गर्नुपर्ने स्थानका क्रस–इन्टरसेक्सन खुला राख्नुपर्ने माग गरिएको छ।
बसपार्क दक्षिण पाञ्चाली मोडमा रहेको क्रस–इन्टरसेक्सनका विषयमा पनि पुनः विचार गर्नुपर्ने माग उठेको छ। अत्यधिक सवारी चाप र भिड हुने उक्त स्थानमा क्रस–इन्टरसेक्सन राख्ने वा हटाउने विषयमा आवश्यक अध्ययन तथा सरोकारवालासँग छलफल गरेर निर्णय गरिने सडक डिभिजन कार्यालयले जनाएको छ।
कोशी राजमार्गअन्तर्गत विराटनगर क्षेत्रमा पछिल्लो समय सवारीसाधनको चाप निरन्तर बढ्दै गएको छ। सडकमा जथाभावी क्रस–इन्टरसेक्सन हुँदा जुनसुकै स्थानबाट सडक पार गर्ने प्रवृत्ति बढेकाले दुर्घटनाको जोखिमसमेत बढेको ट्राफिक प्रहरीको भनाइ छ।
आवश्यक स्थानमा मात्र क्रस–इन्टरसेक्सन कायम गरी अनावश्यक स्थानका क्रस–इन्टरसेक्सन हटाउने निर्णयलाई दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन सुधारसँग जोडेर हेरिएको छ।