विराटनगर । कोशी प्रदेशका १४ जिल्लामा कार्यरत एक हजार २२७ जना पत्रकारको दुर्घटना बीमा कार्यक्रममा समेटिने भएका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले पेशागत तथा सामाजिक सुरक्षालाई ध्यानमा राख्दै पत्रकारको दुर्घटना बीमा कार्यक्रम मंगलबार शुभारम्भ गरेको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख उपस्थिमिा पत्रकार बीमा कार्यक्रम प्रदेशका १४ जिल्लामा शुभारम्भ गरिएको थियो । कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकार पत्रकारको हकहित र संरक्षणका लागि फराकिलो व्यवहार गर्ने बताउनुभयो ।
कोशी प्रदेश सरकारले बीमित पत्रकारको प्रिमियम वापतको रकम एकमुष्ट उपलब्ध गराउने छ । पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खड्काका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १४ जिल्लाका १ हजार २७७ जना पत्रकारका लागि १८ लाख ५० हजार रुपिँया रकम उपलब्ध गराउने भएको हो । महासंघले राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग दुर्घटना बीमा गर्नेछ ।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले पत्रकारको सुरक्षा, जोखिम व्यवस्थापनका लागि बीमाको आवश्यकता रहेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षका लागि सरकारले उपलब्ध गराएको रकमलाई आगामी आर्थिक वर्षका लागि समेत सुनिश्चित गरिने दावी गर्नुभयो । कार्यक्रममा पत्रकारिता क्षेत्रमा कार्यरत पत्रकारहरूको सुरक्षा, जोखिम व्यवस्थापन तथा बीमाको आवश्यकताबारे चर्चा भएको थियो।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुखले पत्रकारहरू समाचार संकलन तथा सम्प्रेषणका क्रममा विभिन्न किसिमका जोखिमपूर्ण परिस्थितिमा खटिनुपर्ने भएकाले उनीहरूको पेशागत सुरक्षाका लागि दुर्घटना बीमा महत्वपूर्ण रहेको बताए ।
उनले पत्रकारहरू फिल्डमा काम गर्दा दुर्घटना तथा अन्य आकस्मिक जोखिममा पर्न सक्ने भएकाले बीमालाई सामाजिक सुरक्षाको महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्ने धारणा राखे । उनले पत्रकारहरूको जोखिम न्यूनीकरण तथा सामाजिक सुरक्षाका लागि दुर्घटना बीमाको पहुँच विस्तार आवश्यक रहेको उल्लेख गर्दै बीमाको दायरा फराकिलो बनाउन नेपाल बीमा प्राधिकरणले आवश्यक सहयोग र सहजीकरण निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरे।