विराटनगर । रसुवा बाढीमा फसेकाहरूको उद्धारका लागि नेपाली सेनाले सुर्खेत र इटहरीबाट थप दुई वटा हेलिकप्टर पनि पठाएको छ। यसअघि ६ वटा हेलिकप्टर उद्धारमा पठाएको सेनाले थप दुई हेलिकप्टरलाई पनि सुर्खेत र इटहरीबाट घटनास्थल पठाएको छ। यससँगै नेपाली सेनाले आफ्ना ८ वटा हेलिकप्टर उद्धारका लागि प्रयोग गरेको छ। यस्तै रसुवा बाढीमा उद्धारका लागि निजी क्षेत्रका पनि ८ वटा हेलिकप्टर प्रयोग भइरहेको छ। कूल १६ वटा हेलिकप्टर हाल उद्धारमा परिचालन भइरहेको सेनाले जनाएको छ।
यस्तै उद्धारका लागि ३ वटा ड्रोन पनि प्रयोग गरिएको छ। सेनाकाअनुसार हालसम्म २९ जनाको हवाई उद्धार गरिएको छ। तिब्बतको जिलोङ काउन्टीस्थित डोङलिन छाङ्गो रिभरमा हिमपहिरोपछि नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा नेपालतर्फ आएको बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ।