विराटनगर । भारतका आइरन उद्योगले कच्चामा मूल्य बृद्धि गरेपछि नेपालका स्टिल उद्योगले टिएमटी छड तथा स्टिलका वस्तुहरुमा मूल्य बृद्धि गरेका छन् । कच्चा आयात गर्दा २० प्रतिशतसम्म महंगो पर्न थालेको भन्दै स्टिल उद्योगले तयारी वस्तुको केजीमा ४ रुपिँयासम्म बृद्धि गरेका हुन् । खानीमा आधारित भारतका उद्योगले स्पन्जको कच्चा आइरन ओर उत्पादन कटौती गरेका छन् । ग्यासको अभाव, कोइलाको मूल्य अनि मनसुनमा माइनिङ्ग कम हुन्छ । आइरन ओर उत्पादन कटौती हुँदा स्पन्ज आइरन बनेन । स्टिल उद्योगको प्रारम्भिक कच्चा आइरन ओर, जसबाट स्पन्ज आइरन र आइरन प्यालेट बन्छ । स्पन्ज आइरनबाट बिलेट, एचआर सिट लगायतका वस्तु उत्पादन हुन्छ ।
नेपालका उद्योगले भारतबाट स्पन्ज आइरन वा प्यालेट आयात गर्दछन् । त्यसबाट बिलेट, एचआर सिट जस्ता वस्तुमा रुपान्तरण गर्दै टीएमटी, एंगल–च्यानल, स्क्वायर पाइपसहितका सामाग्री उत्पादन हुन्छन् । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले भारतमा कच्चाको ४६ देखि ५० प्रतिटन डलरको बृद्धि भएको छ । आइरन माइनिङ्गका क्रममा प्रयोग हुने मेटकोल (मेटलर्जिकल कोइला) को मूल्य बृद्धिसँगै अभाव भएको कारण देखाइएको अध्यक्ष राठीले जानकारी दिएका छन् ।
अध्यक्ष राठीका अनुसार २० दिन अगाडीसम्म भ्याट र ढुवानी खर्चबाहेक उद्योगले ७४ देखि ७६ रुपिँया प्रतिकेजी टिएमटी छड हार्डवेयरलाई दिइरहेकोमा अहिले ७८ देखि ८२ सम्ममा मात्रै उपलब्ध गराउँदै आएको छ । एक महिना अगाडीसम्म २३५ डलर प्रतिटन स्पन्ज आइरन दिइरहेका भारतका उद्योगले अहिले २८५ डलरसम्म पु¥याइसकेको उद्योगीहरुको दावी छ । मूल्य बढाएपनि नेपालका उद्योगले लिने कच्चा स्पन्ज आइरनको उपलब्धता समेत प्रशस्त नभएकोले थप समस्या आउनसक्ने उद्योगीहरु बताउँछन् ।
भारतमा जतिमूल्य बृद्धि हुने हो, त्यति नै नेपालमा समेत तयारी वस्तुको मूल्य बृद्धि हुने पूर्वका उद्योगीहरुको भनाई छ । तर, नेपालमा हरेकवर्ष वर्षात् सकिदै हिउँद लाग्न लाग्दा निर्माण सामाग्रीको मूल्य बृद्धि हुने गरेको छ । पूर्वाधारका कामहरु सुरु हुने बेलामा बढ्ने मूल्यले खर्च बढाउने गरेको छ ।