विराटनगर । भारतको जोगबनी भन्सार क्लियरिङ एजेन्टले गरेको पेनडाउनले दुईदिनसम्म विराटनगर भन्सार कार्यालयको जाँचपास प्रभावित बनेको छ । जोगवनी भन्सार क्लियरिङ एजेन्टहरूले ल्यान्ड पोर्ट अफ इन्डिया (एलपीआई) र सीमा सुरक्षा बल (एसएसबी) सँग असन्तुष्ट राख्दै सोमबारदेखि पेनडाउन थालेका थिए । जसका लागि सोमबार र मंगलबार विराटनगर भन्सार कार्यालयको जाँचपास समेत प्रभावित बनेको थियो ।
तर, बुधबार अबेर उद्योग संगठन मोरङको पहलमा एजेन्टहरुको आन्दोलन फिर्ता भएपछि पुनः जाँचपास सुरु भएको छ । उद्योग संगठन मोरङको पहलमा जोगबनीमा भएको वार्तापछि भन्सार क्लियरिङ एजेन्टहरूले आन्दोलन फिर्ता लिएका हुन् ।
उद्योग संगठन मोरङका नन्दकिशोर राठीका अनुसार ल्यान्ड पोर्ट अफ इन्डिया तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भन्सार एजेन्टको जायज गुनासा सम्बोधन गर्ने समेत सहमति भएको हो । आन्दोलनका कारण अत्यावश्यक वस्तु तथा औद्योगिक कच्चा पदार्थ बोकेर नेपालतर्फ आउँदै गरेका ७०० बढी मालवाहक ट्रक भारतीय सीमामा रोकिएका थिए ।छलफलमा भन्सार एजेन्ट तथा व्यवसायीले उठाएका समस्याबारे जवाफ दिँदै एलपीआईका प्रबन्धक रत्नाकरले हाल सञ्चालनमा रहेको एउटा नगद काउन्टरलाई दुई साताभित्र तीनवटा पु¥याउने प्रतिबद्धता जनाएको अध्यक्ष राठीले बताउनुभयो । जाँचपास प्रक्रियामा देखिँदै आएको सर्भर डाउनको समस्या समाधान गर्नुपर्ने, काउन्टर थप्नुपर्ने, नेपालतर्फ प्रवेश गर्ने हालको एक गेटलाई विस्तार गरी तीनवटा बनाउनुपर्ने माग एजेन्टहरुले राखेका थिए ।
जोगबनी भन्सार क्लियरिङ एजेन्ट संघका अध्यक्ष रामबावु यादवले एलपीआईको व्यवस्थापनका कारण मालवाहक सवारी नेपाल प्रवेश गर्न समय लाग्ने गरेको बताउनुभयो । उहाँले बारम्बार राखेको गुनासो सम्बोधन नभएपछि आन्दोलन गरिएको बताउनुभयो । यता, भारतको भन्सारमा पेनडाउनको असर विराटनगर भन्सारमा सोमबार मंगलबारको जाँचपास अवरोध हुँदा झण्डै २२ करोड राजस्व असुली प्रभावित बनेको प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले बुधबारबाट दैनिक कार्य सञ्चालनमा पूर्ण रुपमा आइसकेको बताउनुभयो ।