विराटनगर । रसुवा, धादिङ तथा नुवाकोटलगायतका जिल्लामा गएको भीषण बाढीका कारण मोरङ जिल्लाबाट कामको सिलसिलामा ती क्षेत्रमा गएका केही व्यक्ति सम्पर्कविहीन भएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले विवरण उपलब्ध गराउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार जारी गरेको सूचनामा भदौ १० गते गएको बाढीका कारण सम्बन्धित क्षेत्रमा गएका व्यक्तिहरू सम्पर्कविहीन भएको भए उनीहरूको नामथर, वतन तथा सम्पर्क नम्बर उपलब्ध गराउन आग्रह गरिएको हो। कार्यालयले सम्पर्कविहीन व्यक्तिका परिवार तथा आफन्तलाई जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC) मोरङको टोल फ्री नम्बर १२३४ वा ल्याण्डलाइन नम्बर ०२१–४७०३७३ मा सम्पर्क गरी जानकारी गराउन अनुरोध गरेको छ।
बाढी तथा पहिरोका कारण विभिन्न जिल्लामा जनधनको क्षति हुनुका साथै यातायात तथा सञ्चार सम्पर्कसमेत प्रभावित भइरहेका बेला जिल्ला प्रशासन कार्यालयले सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारमा सहजीकरणका लागि विवरण माग गरेको हो। कार्यालयले सम्बन्धित सबैलाई आवश्यक सूचना उपलब्ध गराई खोज तथा उद्धार कार्यमा सहयोग गर्न अनुरोध गरेको छ।
