विराटनगर। विराटनगर बास्केटबल एकेडेमी (बीबीए) को आयोजनामा सञ्चालन भइरहेको ‘सातौँ बीबीए कप अन्तरविद्यालय होम एन्ड अवे बास्केटबल लिग’ अन्तर्गत हालसम्म २९ खेल सम्पन्न भएका छन्। होम एन्ड अवे प्रणालीमा भइरहेको प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ विभिन्न समूहका विद्यालयबीच प्रतिस्पर्धा तीव्र बनेको छ। २९ खेलपछि सार्वजनिक अंक तालिकाले पनि हरेक समूहमा शीर्ष स्थानका लागि कडा प्रतिस्पर्धा भइरहेको देखाएको छ।


छात्रतर्फ समूह ‘ए’ मा सगरमाथा स्कुलले शतप्रतिशत जित निकाल्दै ४ खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा आफ्नो स्थिति मजबुत बनाएको छ। टोलीले ३५५ को प्रभावशाली गेम प्वाइन्ट डिफरेन्स समेत कायम गरेको छ। बीकेभीएम ४ खेलमा ३ जित र १ हारसहित ७ अंकका साथ दोस्रो स्थानमा छ। कोबास र डीपीएस पनि अंक तालिकामा आफ्नो स्थान सुधार गर्ने प्रयासमा छन्। समूह ‘बी’ मा सेन्ट जोसेफ्स स्कुल ५ खेलबाट ३ जितसहित ८ अंक जोडेर अग्रस्थानमा छ। ४ खेलमा ३ जित हासिल गरेको अरनिको स्कुल ७ अंकसहित दोस्रो स्थानमा रहँदै सेन्ट जोसेफ्सलाई नजिकबाट पछ्याइरहेको छ। एभरेस्ट र शिक्षादीपबीच पनि अर्को चरणमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित प्रतिस्पर्धा जारी छ।
छात्रातर्फ समूह ‘ए’ मा एभरेस्ट स्कुलले ६ खेलबाट ४ जित निकाल्दै १० अंकसहित तालिकाको शीर्ष स्थान ओगटेको छ। अरनिको र एरागन स्कुल पनि समान ६ अंकका साथ प्रतिस्पर्धामा रहेका छन्। यता, समूह ‘बी’ मा बीकेभीएमले उत्कृष्ट प्रदर्शन गर्दै ३ खेलमै ३ जित हात पारेर ६ अंकसहित पहिलो स्थानमा आफ्नो दबदबा कायम गरेको छ। आयोजकका अनुसार अहिलेसम्मका खेलहरूले विद्यालयस्तरका खेलाडीहरूलाई आफ्नो व्यक्तिगत प्रतिभा र टिमवर्क प्रदर्शन गर्ने राम्रो अवसर प्रदान गरेको छ। लिग चरणका अझै खेलहरू बाँकी रहेकाले आगामी खेलसँगै अंक तालिकाको प्रतिस्पर्धा थप रोमाञ्चक र निर्णायक बन्ने अपेक्षा गरिएको छ।