विराटनगर । विराटनगरस्थित लोक सेवा डेन्टलका सञ्चालक डा. पवन मेहताले रसुवा जिल्लाका बाढी तथा पहिरो प्रभावित नागरिकका लागि रु. १ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको भीषण बाढी र पहिरोबाट स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा ठूलो क्षति पुगेपछि डा. मेहताले प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै राहतका लागि सहयोग गर्ने निर्णय गरेका हुन्।
सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी तथा पहिरो प्रभावित नागरिकको तत्कालीन उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरिने उनले बताएका छन्। डा. मेहताले विपद्को यस कठिन समयमा प्रभावित परिवारको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको उल्लेख गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्नसमेत आग्रह गरेका छन्।