विराटनगरमा ‘सेतो धरती’ मञ्चन, रसुवाका बाढीपीडितलाई १ लाख १ हजार सहयोग

<span class='c1'>विराटनगरमा ‘सेतो धरती’ मञ्चन, रसुवाका बाढीपीडितलाई</span> <span class='c2'>१ लाख १ हजार सहयोग</span>

विराटनगर । मदन पुरस्कार विजेता अमर न्यौपानेको चर्चित उपन्यासमा आधारित नाटक ‘सेतो धरती’ शुक्रबारदेखि विराटनगरमा मञ्चन सुरु भएको छ । काठमाडौंको गैरीधारास्थित कान्तिपुर थिएटरमा १०१औँ शो सफलतापूर्वक सम्पन्न गरेपछि नाटकको टोली विराटनगर आएको हो । विराटनगर–स्थित हाटखोलाको आरोहण गुरुकुल नाटकघरमा शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नाटकको उद्घाटन गरेका थिए । उद्घाटनपछि मुख्यमन्त्री कार्कीले नाटकसमेत हेरेका थिए ।

यसै अवसरमा कान्तिपुर फिल्म एकेडेमी तथा थिएटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पुरीले रसुवाका बाढीपीडितका लागि १ लाख १ हजार रुपैयाँ सहयोग घोषणा गरेका छन् । उक्त रकम मुख्यमन्त्री कार्कीमार्फत बाढीपीडितको राहत कोषमा पठाइएको हो । इलामकी ७ वर्षीया बाल कलाकार एड्रीन धमालाको मुख्य भूमिका रहेको नाटक ‘सेतो धरती’को परिकल्पना तथा निर्देशन सुन्दर धितालले गरेका छन् । अनुप तिमिल्सिनाले संगीत निर्देशन, सागर बीसीले सेट डिजाइन र दीपेश गजुरेलले लाइट डिजाइन गरेका छन् । नाटकको निर्माण तथा बजारीकरण कान्तिपुर थिएटर र कान्तिपुर फिल्म एकेडेमीले गरेका हुन् ।

नाटकमा गीत विष्ट, सुहाना आचार्य, उमेश सुनाम, सजना थापा, सुष्मिता श्रेष्ठ, बिना रोक्का, अर्नव घिमिरे, विरान दहनी, प्रतीक चौधरी, नितेश लोहार, विकल्प ओली, रविन पुन मगर, अर्जुन राई, एलिना कार्की, विशाल कार्की, प्रयास खत्री, संस्कार चौलागाईं, आराध्या दाहाल, तेजस्वी शर्मा, स्वीकृति पन्त, सुप्रज्ञा शर्मा र वर्षा भण्डारीलगायत कलाकारले विभिन्न पात्रको भूमिका निर्वाह गरेका छन् । नाटक मञ्चनका लागि काठमाडौंका ३५ जना कलाकारसहितको टोली विराटनगर आएको हो । टोलीसँगै उपन्यासकार अमर न्यौपाने, सञ्चारकर्मी टीकाराम यात्री तथा कान्तिपुर फिल्म एकेडेमी एवं थिएटरका सीईओ प्रकाश पुरीसमेत विराटनगर आएका छन् ।

निर्देशक सुन्दर धितालले काठमाडौंमा १०१औँ शो सफलतापूर्वक सम्पन्न भएपछि नाटक विराटनगर ल्याइएको बताए । विराटनगरका दर्शकले पनि नाटकलाई माया र साथ दिने अपेक्षा रहेको उनले बताए । उनले विराटनगरमा मञ्चनबाट उठेको रकम रसुवाका विपद्मा परेका परिवारलाई सहयोग गर्ने उद्देश्य रहेकोसमेत जानकारी दिए ।

‘सेतो धरती’ले नेपाली समाजमा विगतमा प्रचलित बालविवाह र त्यसपछि महिलाले भोग्नुपरेका सामाजिक तथा पारिवारिक उतारचढावलाई कथामार्फत प्रस्तुत गरेको छ । पुरानो नेपाली समाजको जीवनशैली, बालविवाह र त्यसले निम्त्याउने पीडालाई नाटकले भावनात्मक रूपमा प्रस्तुत गर्ने भएकाले दर्शकलाई भावुक बनाउने गरेको छ । विशेषगरी बाल कलाकारहरूको अभिनयले दर्शकको ध्यान तानेको छ ।

कान्तिपुर थिएटरका अनुसार विराटनगरमा नाटक तीन दिनसम्म मञ्चन हुनेछ । हरेक दिन बिहान ९ बजे, दिउँसो १२ बजे र अपराह्न ३ बजे गरी तीनवटा शो सञ्चालन हुनेछन् । नाटकको अवधि १ घण्टा ४० मिनेट रहेको छ । नाटक हेर्नका लागि कान्तिपुर थिएटरको वेबसाइटमार्फत ई–सेवा वा खल्तीबाट भुक्तानी गरी टिकट बुक गर्न सकिने व्यवस्था गरिएको छ । सिटअनुसार टिकटको मूल््य ३००, ५००, ७००र १ हजार रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्