विराटनगर । श्वास फेर्न गाह्रो भएपछि आकस्मिक रूपमा अस्पताल ल्याइएका १० महिने शिशुको घाँटीमा अड्किएको कानको मुन्द्रा सफलतापूर्वक निकालिएको छ। नोबेल मेडिकल कलेज टिचिङ अस्पताल, विराटनगरको आकस्मिक कक्षमा श्वास फेर्न कठिनाइ भएपछि शिशुलाई उपचारका लागि ल्याइएको थियो। प्रारम्भिक चेकजाँचका क्रममा शिशुको घाँटीमा विदेशी वस्तु अड्किएको पाइएको थियो।
अस्पतालका अनुसार, युनिट इन्चार्ज डा. मीनाक्षी बस्नेतको नेतृत्वमा तथा नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. राजेश कुमार रायसहितको चिकित्सकीय टोलीले तत्काल उपचार प्रक्रिया अघि बढाएको थियो। चिकित्सकीय टोलीले सफलतापूर्वक घाँटीमा अड्किएको कानको मुन्द्रा निकालेर शिशुको अवस्था सुरक्षित बनाउन सफल भएको हो। समयमै गरिएको उपचारका कारण शिशुलाई थप जोखिमबाट जोगाउन सकिएको अस्पतालले जनाएको छ।
रक्षाबन्धनको अवसरमा भएको यस सफल उपचारलाई अस्पतालले एक निर्दोष शिशुलाई नयाँ जीवन दिन पाएको महत्वपूर्ण क्षणका रूपमा लिएको छ। अस्पतालले शिशुको उपचारमा संलग्न डा. मीनाक्षी बस्नेत, डा. राजेश कुमार रायसहित सम्पूर्ण चिकित्सकीय टोलीको योगदानलाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेको छ।