तामझामका साथ उद्घाटन ८ महिनादेखि थन्कियो ‘कोसी घुम्ती अस्पताल’, रसुवा बाढीमा काम लाग्न सक्थ्यो

<span class='c1'>तामझामका साथ उद्घाटन ८ महिनादेखि थन्कियो ‘कोसी</span> <span class='c2'>घुम्ती अस्पताल’, रसुवा बाढीमा काम लाग्न सक्थ्यो</span>

सोनु साह,
विराटनगर । कोसी प्रदेश सरकारले जनताको घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सञ्चालनमा ल्याएको ‘कोसी घुम्ती अस्पताल’बस उद्घाटन भएको करिब आठ महिना पुग्दा पनि नियमित सञ्चालनमा आउन सकेको छैन। लाखौँ रुपैयाँ खर्च गरेर अत्याधुनिक स्वास्थ्य उपकरणसहित तयार पारिएको उक्त बस अहिले विराटनगरस्थित शैलजा आचार्य कोसी प्रदेश अस्पताल तथा हृदय केन्द्रको परिसरमा थन्किएको छ।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीको निर्वाचन क्षेत्रअन्तर्गत झापाको कमल गाउँपालिकामा २०८२ साल पुसमा तामझामका साथ घुम्ती अस्पतालको उद्घाटन गरिएको थियो। मुख्यमन्त्री कार्कीको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्रीसहितका अधिकारीहरूको सहभागिता थियो।

प्रदेश सरकारले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई अस्पतालसम्म धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यले करिब ८० लाख रुपैयाँ खर्च गरेर बसमै अत्याधुनिक स्वास्थ्य उपकरण जडान गरी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको थियो। बसमा रेडियोलोजी, मुटुको एक्सरे, रगत परीक्षण तथा रगतको नमुना सङ्कलन गर्नेलगायतका उपकरण जडान गरिएको थियो।

उद्घाटनका क्रममा मुख्यमन्त्री कार्कीले घुम्ती अस्पताल नेपालकै पहिलो तथा नमुनायोग्य भएको दाबी गर्दै यसलाई थप परिस्कृत गर्दै प्रदेशका विभिन्न क्षेत्रमा पुर्‍याउने बताएका थिए। उद्घाटनकै बेला कमल गाउँपालिकामा ३०० भन्दा बढी नागरिकको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो। तर उद्घाटनपछि केही दिन सञ्चालनमा आएपछि घुम्ती अस्पताल नियमित सेवामा आउन सकेन। अहिले लामो समयदेखि अस्पताल परिसरमै राखिएको छ।

विपद्का बेला पनि उपयोग हुन सकेन

यतिबेला रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो मानवीय संकट उत्पन्न भएको छ। बाढी प्रभावित क्षेत्रमा खानेपानी, खाद्यान्न, स्वास्थ्य सेवा तथा औषधिको अभाव हुँदै गएको छ। फोहोर तथा दूषित वातावरणका कारण बाढी प्रभावित र उद्धारमा खटिएका सुरक्षाकर्मीमा स्वास्थ्य समस्या देखिन थालेको बताइएको छ।

देशका विभिन्न क्षेत्र तथा विदेशबाट समेत रसुवा बाढीपीडितका लागि राहत तथा सहयोग जुटिरहेको अवस्थामा प्रदेश सरकारसँग रहेको अत्याधुनिक स्वास्थ्य सुविधा भएको घुम्ती अस्पतालसमेत उपयोगमा आउन नसकेको भन्दै प्रश्न उठेको छ।

प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरे पनि आफ्नै स्वामित्वमा रहेको घुम्ती अस्पताललाई विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न परिचालन गर्न नसकेको भन्दै आलोचना भएको छ।

जनताको करबाट ठूलो रकम खर्च गरेर ल्याइएको स्वास्थ्य सेवा दिने साधन आवश्यक परेको समयमा प्रयोगमा आउन नसक्नु राज्यको स्रोत व्यवस्थापनप्रति गम्भीर प्रश्न भएको नागरिकहरूको भनाइ छ। कतिपयले प्रदेश सरकारले बजेट खर्च देखाउनकै लागि घुम्ती अस्पताल खरिद तथा उद्घाटन गरेको आरोपसमेत लगाएका छन्।

‘केही मेन्टनेन्सको काम बाँकी छ’

कोसी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. कीर्तिपाल सुवेदीले उद्घाटनपछि केही दिन घुम्ती अस्पताल सञ्चालनमा आएको तर त्यसपछि अस्पताल परिसरमा राखिएको बताए। उनका अनुसार बसमा कुनै ठूलो प्राविधिक समस्या छैन। केही सामान्य मर्मत तथा व्यवस्थापनको काम बाँकी रहेकाले सञ्चालनमा ल्याउन नसकिएको हो।

‘गाडीमा कुनै किसिमको ठूलो समस्या छैन, केही सामान्य मेन्टनेन्सको काम बाँकी छ,’ सचिव सुवेदीले भने। उनले चालु आर्थिक वर्षमा समेत घुम्ती अस्पताल सञ्चालनका लागि बजेट छुट्याइएको र केही महिनाभित्र पुनः सञ्चालनमा ल्याउने तयारी रहेको बताए।

रसुवाको बाढी प्रभावित क्षेत्रमा उक्त बस पठाउन सकिने सम्भावनाबारे सोध्दा सचिव सुवेदीले बसको आकार ठूलो भएकाले पहाडी तथा दुर्गम क्षेत्रमा लैजान समस्या हुने बताए। त्यसकारण हालको अवस्थामा रसुवा पठाउन नसकिएको उनको भनाइ छ।

उद्घाटनको आठ महिनामै निष्क्रिय

प्रदेश सरकारले करिब ८० लाख रुपैयाँ खर्च गरेर अत्याधुनिक स्वास्थ्य उपकरणसहित तयार पारेको घुम्ती अस्पताल उद्घाटन भएको आठ महिना नपुग्दै नियमित सेवा दिन नसक्ने अवस्थामा पुग्नु गम्भीर विषय बनेको छ। जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले ल्याइएको बस नै लामो समयसम्म थन्किएपछि प्रदेश सरकारको योजना कार्यान्वयन, बजेट खर्च र सार्वजनिक स्रोतको उपयोगितामाथि प्रश्न उठेको छ।

उद्घाटनका क्रममा ‘नेपालकै पहिलो र नमुनायोग्य’ भन्दै प्रचार गरिएको घुम्ती अस्पताल अहिले अस्पताल परिसरमै थन्किएर बस्नुले सरकारी योजना उद्घाटन र भाषणमा मात्रै सीमित हुने प्रवृत्तिलाई समेत उजागर गरेको देखिन्छ।

विपद्को समयमा स्वास्थ्य सेवा अत्यावश्यक भइरहेका बेला प्रदेश सरकारसँग उपलब्ध साधनको प्रभावकारी उपयोग हुन नसक्नु थप विडम्बनापूर्ण बनेको छ। करिब ८० लाख रुपैयाँ खर्च भएको उक्त बस वर्षभरि पनि नियमित सञ्चालनमा आउन नसक्नु सम्बन्धित मन्त्रालयको व्यवस्थापन र कार्यान्वयन क्षमतामाथि गम्भीर प्रश्न बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्