विराटनगर । मोरङ स्पोर्टिङ क्लबको अध्यक्षमा विशाल न्यौपाने निर्विरोध निर्वाचित भएका छन्। विराटनगरमा आइतबार सम्पन्न क्लबको प्रथम वार्षिक साधारण सभा तथा निर्वाचनबाट नेउपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।
साधारण सभाबाट क्लबका विभिन्न पदमा नौ जना पदाधिकारी तथा सदस्य निर्वाचित भएका छन्। जसअनुसार उपाध्यक्षमा डा. प्रेक्षा दली, सचिवमा सुवास घिमिरे, सहसचिवमा सागरराज ढुंगाना र कोषाध्यक्षमा अनुष्का कार्की निर्वाचित भएका छन्। त्यस्तै, सौरभ वानिया, सागर गिरी, सृजन प्याकुरेल र हिरन ढकाल सदस्यमा निर्वाचित भएका छन्।
क्लबको प्रथम वार्षिक साधारण सभाको प्रमुख अतिथिका रूपमा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की सहभागी भएकी थिइन्। कार्यक्रममा विराटनगर–११ का वडा सदस्य बलराम कारञ्जित लगायतको उपस्थिति रहेको थियो।
साधारण सभाका अवसरमा क्लबले रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो। कार्यक्रममा सहभागीहरूले रक्तदान गर्दै सामाजिक सेवामा क्लबको भूमिकालाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए। नवनिर्वाचित कार्यसमितिले क्लबको खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउँदै खेलाडीको विकास तथा सामाजिक क्षेत्रमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।