विराटनगर। देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै श्री बाल संस्कार तथा युवा जागृति केन्द्र अष्ट चिरञ्जीवी मन्दिरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ५१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
संस्थाका अध्यक्ष विनायक पन्तले दिएको जानकारीअनुसार हालैको प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, बाढी पहिरोमा परी घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ।

विपद्को यस अप्ठ्यारो स्थितिमा प्रभावित क्षेत्रका पीडितहरूको उद्धार, राहत तथा पुनस्थापनामा केही हदसम्म सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाको तर्फबाट उक्त रकम राहत कोषमा जम्मा गरिएको अध्यक्ष पन्तले बताउनुभयो। प्राकृतिक विपत्तिको समयमा सबै क्षेत्र र समुदायबाट सहयोगको हात बढाउनुपर्नेमा जोड दिँदै संस्थाले आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने जनाएको छ।