विराटनगर । काठमाडौंको मौसममा आएको परिवर्तनका कारण विराटनगरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान गन्तव्यमा अवतरण गर्न नसकेपछि विराटनगर विमानस्थलमै फर्किएको छ।
बुद्ध एयरको उडान नम्बर ७१४ सोमबार साँझ करिब ६ः४५ बजे विराटनगरबाट काठमाडौंका लागि उडेको थियो। काठमाडौं पुगेपछि मौसम अनुकूल नभएका कारण विमानले अवतरण गर्न नसकेपछि पुनः विराटनगरतर्फ फर्किएको हो।
विराटनगर विमानस्थलका प्रमुख शुभाष झाका अनुसार काठमाडौंको मौसममा अचानक परिवर्तन आएपछि विमान फर्किनुपर्ने अवस्था सिर्जना भएको हो। उनका अनुसार उक्त विमान करिब दुई घण्टा आकाशमै होल्ड गरिएको थियो।
मौसममा सुधार आएर काठमाडौंमा अवतरण गर्ने प्रयास गरिए पनि अवस्था अनुकूल नभएपछि विमानलाई पुनः विराटनगर फर्काइएको झाले बताए। विमान विराटनगर विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरेको छ।
झाका अनुसार अहिले विराटनगर विमानस्थलमा पाँचवटा विमान होल्ड भएर रहेका छन्। काठमाडौंको मौसम प्रतिकूल बनेपछि विराटनगरबाट उडेका अन्य विमानको उडानसमेत प्रभावित भएको जनाइएको छ। नेपालगंजबाट काठमाडौँका लागि उडेका विमान अवतरण गर्न नसकेपछि विराटनगर विमानस्थलमा अवतरण भएको झाले जानकारी दिएका छन । यति ऐयरको १ विमान सहित ५ ओटा विमान अहिले विराटनगर विमानस्थलमा रहेको बताए ।