सोनु साह,
विराटनगर । काठमाडौंको मौसममा आएको अचानक परिवर्तनका कारण नेपालगञ्जबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान गन्तव्यमा अवतरण गर्न नसकेपछि विराटनगर विमानस्थलमा अवतरण गरिएको छ।
नेपालगञ्जबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं पुगेर अवतरणको प्रयास गरे पनि मौसम अनुकूल नभएपछि विराटनगरतर्फ डाइभर्ट गरिएको हो। विराटनगर विमानस्थलका प्रमुख शुभाष झाका अनुसार काठमाडौंको मौसममा आएको परिवर्तनका कारण विराटनगरबाट काठमाडौंका लागि उडेका विमानसमेत पुनः विराटनगर फर्किएका छन्।
उनका अनुसार विराटनगरबाट काठमाडौंका लागि बुद्ध एयरका तीनवटा र यती एयरको एउटा विमान उडेका थिए। काठमाडौंको मौसम प्रतिकूल भएपछि ती विमान विराटनगर नै फर्किएका हुन्। त्यस्तै, नेपालगञ्जबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमानले समेत काठमाडौंमा अवतरण गर्न नसकेपछि विराटनगर विमानस्थलमा अवतरण गरेको झाले बताए।
झाका अनुसार पाँचवटै विमान विराटनगर विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरेका छन्। हाल यती एयरको एउटा विमानसहित बुद्ध एयरका गरी पाँचवटा विमान विराटनगर विमानस्थलमा रहेका छन्। काठमाडौंको मौसममा सुधार नआएका कारण ती विमानलाई विराटनगरमै राखिएको र भोलि मौसम सफा भएपछि काठमाडौंका लागि प्रस्थान गर्ने झाले जानकारी दिए। काठमाडौंको प्रतिकूल मौसमका कारण विराटनगरबाट हुने काठमाडौंका उडानसमेत प्रभावित भएका छन्।