सोनु साह,
विराटनगर । देश विपद्को गम्भीर संकटमा रहेका बेला विराटनगरमा प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिँदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्रामा संकलन हुने भेटी रकम यस वर्ष प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ। देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रथयात्रामा उठ्ने भेटी रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको राधाकृष्ण मन्दिर समितिले जनाएको छ।
रथयात्राका क्रममा राहत रकम संकलन गर्न तीनवटा गाडीसमेत परिचालन गरिने भएको छ। रथयात्राको अगाडिको भाग, मध्य भाग र पछाडिको भागमा एक–एकवटा गाडी राखिने समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए। ती गाडीमा भक्तजन तथा सर्वसाधारणले आफ्नो इच्छाअनुसार सहयोग रकम जम्मा गर्न सक्नेछन्। संकलन भएको सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने रेग्मीले बताए। उनका अनुसार राधाकृष्ण मन्दिरबाट रथमा चढाइने भेटी रकमसमेत यस वर्ष कोषमै जम्मा गरिनेछ।
“रथयात्रा हाम्रो परम्परा भएकाले निरन्तरता दिनुपर्ने अवस्था छ। तर अहिले देश निकै दुःखको घडीमा छ। त्यसैले विगतका वर्षमा जस्तो तामझाम नगरी व्यवस्थित रूपमा रथयात्रा सञ्चालन गर्ने निर्णय गरेका छौँ,” अध्यक्ष रेग्मीले भने। रसुवालगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रमा क्षति पुगेका र घरबारविहीन भएका नागरिकको राहतका लागि सहयोग जुटाउने उद्देश्यले रथयात्रालाई सहयोग अभियानसँग जोडिएको उनले बताए।
रथयात्रामा झाँकी, बाजागाजा, प्रहरी, एम्बुलेन्स, दमकल तथा सञ्चारकर्मीका सवारीसाधनलगायत सयौँ सवारीसाधन सहभागी हुने गर्छन्। विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रामा प्रत्येक वर्ष ठूलो संख्यामा भक्तजन तथा सर्वसाधारणको सहभागिता रहने गरेको छ। यस वर्ष राधाकृष्ण रथयात्रा भदौ २० गते निकालिँदैछ। यो रथयात्राको ५९औँ संस्करण हो। देश विपद्को चपेटामा परिरहेका बेला रथयात्रालाई भव्यताभन्दा पनि सेवा, सहयोग र मानवीय भावनासँग जोडेर सञ्चालन गर्ने समितिको तयारी छ।