विराटनगर । मोरङ प्रहरीले अदालतबाट फैसला भई फरार रहेका १५ जना प्रतिवादीलाई पक्राउ गरेको छ। सम्मानित अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउँदै न्यायिक कारबाहीलाई पूर्णता दिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेका १५ जना प्रतिवादीलाई आवश्यक कारबाही तथा जरिवाना असुलउपरका लागि मोरङ जिल्ला अदालत, विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दाका ४ जना, अभद्र व्यवहारका २ जना, चेक अनादरका १ जना, चोरीका २ जना, सवारी ज्यान मुद्दाका १ जना, बैंकिङ कसुरका १ जना, बैंकिङ तथा वित्तीय कारोबार कसुरका १ जना र अंगभंग मुद्दाका १ जना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनमा सहयोग गर्ने अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।