विराटनगर । राधाकृष्ण रथयात्राको ५९ औं संस्करणका लागि मोरङ प्रहरीले कसिलो सुरक्षा योजना तयार पारेको छ । मोरङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक कबित कटुवालका अनुसार एक हजार भन्दा बढी प्रहरी परिचालन गरिनेछ । त्यसमा २५ प्रतिशत प्रहरी सादा पोशाकमा हुनेछन् ।
लागुऔषधको बढ्दो प्रयोगले रथयात्रामा ‘राधाकृष्ण–गोपालकृष्ण’ भन्दै चोर्ने दाउ हेर्नेहरुको उतिकै घुँइचो लाग्छ । विगतका वर्षका अनुभवका आधारमा यस पटक प्रहरीले चोर्नेहरुका लागि सादा पोशाकमा प्रहरी खटाउनेछ । त्यस बाहेक रथयात्रामा आउनेहरुले किशोरीहरुलाई छेडखानी समेत गर्ने उद्देश्यले भीडलाई धकेल्ने गरेका छन् । जसका लागि पनि प्रहरीको निगरानी हुनेछ ।
प्रहरी उपरीक्षक कटुबालका अनुसार यो वर्ष भौतिकसँगै प्रविधि निगरानीलाई समेत उतिकै मजबुत बनाइने छ । सिसी टिभी निगरानीका लागि कन्ट्रोल रुमबाट सहरको गतिविधि नियालिनेछ । त्यस बाहेक ड्रोन उडाइनेछ । जसलाई निगरानी ड्रोन नामाकरण गरिएको छ । प्रहरीले रथयात्रा आउनु अगावै मंगलबारदेखि सीमा क्षेत्रबाट प्रवेश गर्नेहरुको निगरानी समेत सुरु गरिसकेको छ प्रवेश गर्नेहरुबारे समेत प्रहरीले सुक्ष्म अध्ययन गरिरहेको छ ।
प्रहरी उपरीक्षक कटुबालले धार्मिक मान्यता अनुसार श्रद्धा व्यक्त गर्न जाने श्रद्धालुले त्यहिस्तरको आचरण प्रस्तुत गर्नुपर्ने हुन्छ । भीडमा प्रवेश गरेर त्यसलाई मोड्ने वा हुलहुल्जत गर्ने जस्ता कार्य हुनसक्ने संभावनालाई पहिल्यै ट्याकल गरिनेछ । राधाकृष्ण रथयात्राको अवलोकन तथा पूजाअर्चना गर्न आउने भक्तजन ढुक्क भएर आउन मोरङका प्रहरी प्रमुख कटुवाल बताउँछन् । तर, भीडमा आउँदा अनावश्यक देखावटीपनमा नलाग्न समेत आग्रह गरिएको छ । प्रहरीले बहुमूल्य गरगहना लगाएर भीडमा नआउने भनेको छ ।