सोनु साह
विराटनगर । विराटनगर–३, मानगढस्थित श्री राधाकृष्ण मन्दिरमा यस वर्षको श्रीकृष्ण जन्माष्टमी तथा ३२औँ श्रीराधाकृष्ण रथयात्रा विभिन्न धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमसहित आयोजना हुने भएको छ।
रथयात्रा मूल समारोह समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार भदौ १९ गते श्रीकृष्ण जन्माष्टमी तथा भदौ २० गते शनिबार राधाकृष्ण रथयात्रा निकालिनेछ। रथयात्रा बिहान ८ः३० बजेदेखि दिउँसो १२ बजेसम्म श्री राधाकृष्ण मन्दिर, मानगढबाट सुरु हुने जनाइएको छ। रथयात्रा सम्पन्न भएपछि दिउँसो १२ बजेदेखि रथयात्रामा सहभागी भक्तजनका लागि मन्दिर परिसरमा विशाल भण्डाराको व्यवस्था गरिनेछ।


समितिका अनुसार रथयात्रालाई लक्षित गरी भदौ १२ गते उपनयन ९व्रतबन्ध० कार्यक्रम, भदौ १३ देखि १५ गतेसम्म सांस्कृतिक कार्यक्रम, भदौ १७ गते रक्तदान कार्यक्रम र भदौ १८ गते मोटरसाइकल र्याली आयोजना गरिनेछ। रक्तदान कार्यक्रम देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित परिवार र अस्पतालमा देखिएको रगत अभावलाई ध्यानमा राख्दै नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा गरिने समितिले जनाएको छ। आज आयोजना गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको समितिले जनाएको छ ।
यसैगरी, भदौ १८ गते दिउँसो मोटरसाइकल र्याली आयोजना गरी रथयात्राको प्रचार–प्रसार तथा मार्ग व्यवस्थापनमा सहयोग पुर्याइनेछ। भदौ १९ गते श्रीकृष्ण जन्माष्टमीका दिन दिनभर पूजा–आराधना, हरिनाम संकीर्तन तथा मध्यरातमा भगवान् श्रीकृष्णको महाअभिषेक, कथा र आरतीसहित जन्मोत्सव मनाइने कार्यक्रम रहेको छ।
यस वर्षको रथयात्राका लागि नयाँ तथा आकर्षक रथ निर्माण गरिएको समितिले जनाएको छ। रथ करिब २१ फिट उचाइ, १५ फिट चौडाइ र १९ फिट लम्बाइको रहेको छ भने जुवाको भाग करिब ८ फिटको रहेको जनाइएको छ।

रथयात्राले विराटनगरका मुख्य सडक तथा विभिन्न चोक हुँदै नगर परिक्रमा गर्नेछ। विगतमा झैँ यस वर्ष पनि ठूलो संख्यामा भक्तजनको सहभागिता हुने अपेक्षा गरिएको छ। रथयात्रालाई व्यवस्थित र सुरक्षित बनाउन सम्बन्धित निकायसँग समन्वय गरी यातायात तथा सुरक्षा व्यवस्थापनको तयारीसमेत अघि बढाइएको समितिले जनाएको छ।
विराटनगरको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट आयोजना हुँदै आएको छ।