विराटनगर । विराटनगरमा एक आँखा अस्पतालको नाम लेखिएको गाडी प्रयोग गरेर विराटनगरबाट गाँजा तस्करीको गर्ने गरेको भेटिएको छ । विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकबाट सशस्त्र प्रहरीले करिब ६० किलो गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बीओपी दरैयाबाट खटिएको टोलीले मंगलबार राति करिब ११ बजेतिर ‘दिव्य ज्योति अस्पताल प्रालि’ लेखिएको को १ च ६६२०
नम्बरको सुजुकी भ्यानलाई रोकेर चेकजाँच गर्न खोजेको थियो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका सुरक्षाकर्मीले भ्यान रोक्न खोजेपछि चालक गाडी छाडेर फरार भएका थिए ।चेकजाँचका क्रममा भ्यानभित्र दुईवटा बोरामा राखिएको ६० किलो गाँजा फेला परेको जानकारी उनले दिए । बरामद गाँजासहित भ्यानलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको छ ।
विराटनगर महानगरपालिका–१४ मा मलाया रोडमा दिव्य ज्योति नामको आँखा अस्पताल छ ।
गाडी उक्त अस्पतालको हो कि हैन भनेर यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । यता आँखा अस्पतालका संचालक देवा यादवले भने गाडी आफुहरुको नभएको बताएका छन् । अस्पतालको स्टीर प्रयोग भएको पाइएको छ हामी पनि यसको खोजतालस गर्दैछौँ यादव भने।
अवैध धन्दा चलाउने व्यक्तिहरुले सुरक्षाकर्मीलाई छल्नका लागि पनि त्यसरी अस्पतालको नाम राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।