सोनु साह
विराटनगर । विराटनगरमा भोलि आयोजना हुने ऐतिहासिक राधाकृष्ण रथयात्रामा ठूलो संख्यामा भक्तजन तथा सर्वसाधारण सहभागी हुने अपेक्षा गरिएको छ। अत्यधिक भीडभाड हुने भएकाले सम्भावित चोरी, दुर्घटना तथा अन्य जोखिमबाट बच्न प्रहरीले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
प्रहरीले रथयात्रामा सहभागी हुँदा बहुमूल्य गरगहना, महँगा मोबाइल तथा अनावश्यक मूल्यवान् सामान नबोक्न आग्रह गरेको छ। साथै, साथमा भएका सामानको आफैंले सुरक्षित रूपमा हेरचाह गर्न पनि प्रहरीले अनुरोध गरेको छ। रथयात्रामा सहभागी हुने सर्वसाधारणलाई यी कुरामा ध्यान दिन आग्रह गरिएको छ
१) बहुमूल्य गरगहना नलगाउनुहोस्
अत्यधिक भीडभाड हुने भएकाले बहुमूल्य गरगहना लगाएर नआउन आग्रह गरिएको छ। चोरी वा हराउने जोखिम हुन सक्ने भएकाले आवश्यकबाहेकका मूल्यवान् सामान घरमै सुरक्षित राख्न प्रहरीले सुझाव दिएको छ।
२) बालबालिका तथा वृद्धवृद्धालाई सुरक्षित स्थानबाट दर्शन गराउनुहोस्
बालबालिका, अशक्त तथा वृद्धवृद्धा आमाबुबालाई अत्यधिक भीड भएको स्थानमा नलगी सुरक्षित स्थानबाट रथयात्राको दर्शन गराउन आग्रह गरिएको छ।
३)घर पूर्णरूपमा एक्लो नछाड्नुहोस्
रथयात्रा हेर्न परिवारका सबै सदस्य बाहिर निस्कँदा घरमा कोही नहुने अवस्था आउन सक्ने भएकाले सम्भव भएसम्म एक–दुई जना सदस्यलाई घरको रेखदेखका लागि राख्न आग्रह गरिएको छ।
४) भीडभाडमा सुरक्षित जुत्ता लगाउनुहोस्
रथयात्राका क्रममा सडकमा अत्यधिक भीड हुने भएकाले चिप्लिने वा दौडधुप गर्दा चोटपटक लाग्ने जोखिमबाट बच्न सहज र सुरक्षित जुत्ता लगाएर आउन सुझाव दिइएको छ।
५) छत तथा रेलिङबाट दर्शन गर्दा सावधानी अपनाउनुहोस्
घरको छत, रेलिङ वा अग्लो स्थानबाट रथयात्रा हेर्नेहरूले विशेष सावधानी अपनाउनुपर्नेछ। भीडको उत्साहमा असावधानी नगर्न र बालबालिकालाई विशेष निगरानीमा राख्न आग्रह गरिएको छ।
६) समस्या परे तत्काल प्रहरीलाई खबर गर्नुहोस्
रथयात्राका क्रममा कुनै भवितव्य, चोरी, हराइरहेको व्यक्ति वा अन्य समस्या भएमा तत्काल मोरङ प्रहरीको १०० नम्बरमा फोन गरी जानकारी गराउन आग्रह गरिएको छ। यसैबीच, विराटनगर बाहिर तथा विदेशमा रहेका दर्शकलाई पनि राधाकृष्ण रथयात्राको प्रत्यक्ष प्रसारण तथा ‘आवर विराटनगर’बाट हुने लाइभ अपडेट हेर्न सकिन्छ । ऐतिहासिक राधाकृष्ण रथयात्रा भोलि भदौ २० गते दिउँसो ३ बजे विराटनगरस्थित राधाकृष्ण मन्दिरबाट निकालिँदैछ।