विराटनगर । अवैधलागुऔषध गाँजा बरामद भएको गाडीबाट प्रमाण नष्ट गरेको आरोपमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति रोहित यादवलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ १६ गते सशस्त्र प्रहरीले दिव्य ज्योति आँखा अस्पतालको स्टिकर टाँसेको एउटा भ्यानबाट गाँजा बरामद गरेको थियो । गाँजा बरामद हुँदाताका भेनमा अस्पतालको नाम उल्लेखित स्टिकर थियो । त्योसहित अपराधको थप अनुसन्धान गर्न सशस्त्रले इलाका प्रहरी कार्यालय रानीलाई गाडीसहितको गाँजा बुझाएको थियो ।
इलाका प्रहरी कार्यालय रानी परिसरमा आइपुगेको गाडीबाट एकाएक स्टिकर गायब पारियो । प्रमाण मेट्न खोजिएको आशङ्कामा मोरङ प्रहरीले आफ्नै इन्स्पेक्टरसँग स्पष्टीकरण सोधेको थियो ।
भदौ १६ गते मंगलबार राति करिब ११ बजेको समयमा विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बलको टोलीले नियमित चेकजाँचमा गाडीसहित गाँजा नियन्त्रणमा लिएको थियो । को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई रोकेर चेकजाँच गर्न खोज्दा चालक भ्यान छाडेर फरार भएका थिए । यो प्रकरणमा चालक भगाएको आरोप सशस्त्रलाई समेत अस्पताल प्रशासनले लगाएको छ ।
दुई वटा बोरामा प्याक गरिएको करिब ५०.२९० केजी गाँजा र गाडी बुझाएको थियो । सशस्त्र प्रहरीले आवश्यक मुचुल्का उठाएर थप अनुसन्धानका लागि भ्यान र गाँजा इलाका प्रहरी कार्यालय रानीमा बुझाएपछि अस्पतालको नाम अंकित स्टिकर गायब बनाइएको थियो ।
इलाका प्रहरी कार्यालय रानीले अस्पताल प्रशासनलाई के, कसो हो ? भनेर बुझ्न बोलाएको बेला आएका समूहमध्येबाटै स्टिकर उप्काइएको थियो । त्यहि आरोपमा प्रहरीले विराटनगर–१४ का रोहित यादवलाई पक्राउ गरेको हो । रानी इलाकाबाट हुने कतिपय कार्य आशंका गर्नयोग्य समेत हुने गरेको धेरैको गुनासो छ । प्रहरीले सोमबार यादवलाई पक्राउ गरेर अनुसन्धानका लागि सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।