विराटनगर । नेपालमा अतिभारी वर्षा हुन्छ भनेपछि पछिल्लो समय मनमा एउटा नराम्रो चित्र कोरिन्छ । त्यो हो, भोटेकोशी बाढी । हुन त त्यो अतिभारी वर्षापछिको विपद् थिएन । हिमपहिरोले हिमतालमा दिएको धक्कापछि भोटेकोशीमा अप्रत्यासित आएको बाढी थियो ।
जल तथा मौसम विज्ञान केन्द्रीय विभागले दिइरहेको बुलेटिनमा देशैभरी कतै सामान्य, कतै अति अनि कतै भारी वर्षा हुने भनेको छ । वर्षा हुने भनेपछि त्यसबाट उत्पन्न हुने बाढी र डुबानको विपद्मा विराटनगर पनि पर्छ । त्यसबाट नागरिकलाई जोगाउन पूर्व तयारीका कामहरु अहिले धमाधम भइरहेको महानगरका नगर प्रहरी निरीक्षक राजन पौडेल बताउँछन् । उनका अनुसार बुधबार साँझ विराटनगरको सिंघीया केसलिया नदी तटीय क्षेत्रका बस्तीमा सचेतना सूचना जारी गरिनेछ । त्यसपछि नदी तटीय क्षेत्रका सर्वसाधारणलाई पानीको वहाव बढ्दै जाँदा नजिकको सुरक्षित स्थान कहाँ कहाँ भनेर जानकारी गराइने छ ।
विराटनगरका लागि सबैभन्दा ठूलो दुःख भनेको सिंघीया र केसलिया नदी मानिन्छन् । चुरे क्षेत्रमा पानी परे मात्रै पनि केसलिया र सिंघीया खोलामा पानीको वहाव बढ्नेछ । किनकी केसलिया नदीको उत्पति क्षेत्र मोरङको केराबारी र आसपासका खोल्सा तथा भंगालो हो भने सिंघीयाको सुन्दरहरैंचा र बुढीगंगा आसपासको खोल्सा र भंगालोहरु हुन् । नगर प्रहरी इन्चार्ज पौडेलले विराटनगरमा परेको पानीले मात्रै ठूलो असर गर्दैन । तर, यी दुई नदी सहरको पूर्व–पश्चिम भू–भागमा उत्तर–दक्षिण बहाव भएर बग्ने गर्दछन् । त्यहाँ चुरेक्षेत्रमा परेको पानीको प्रभाव एकाएक पर्दछ । मोरङ र सुनसरी जिल्लाका बाढी प्रभावित क्षेत्रहरूलाई सुरक्षित बनाउन र विराटनगरलाई डुबानबाट जोगाउन लक्षित केशलिया करिडोर निर्माणको चर्चा पनि चलेको थियो । तर, यो योजनाको कुरा हल्लाखल्ला मात्रै भइरहेको छ । केसलिया खोला सुनसरी पुगेपछि बुढीखोलामा रुपान्तरण हुन्छ । त्यसैले बुढीखोला–केशलिया करिडोर निर्माणको प्रस्ताव ल्याइएको छ ।
करिडोर निर्माण विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका , दुहबी नगरपालिका र बर्जु गाउँपालिका (सुनसरी) को समन्वयमा सङ्घीय, प्रदेश र स्थानीय तहको साझेदारीमा बढाउने भनिएको थियो । तर, अहिलेसम्म बढेको छैन । केशलिया नदी केराबारी गाउँपालिकाको चुरे क्षेत्रबाट सुरु भई सेरा, हुरहुरे र गछिया खोलासहित आठ वटा स्थानीय तह हुँदै बग्दछ। यो करिडोर दुहबी पुलदेखि नेपाल–भारत सिमानासम्ममा ६ हजार ४०० हेक्टर क्षेत्रफल बाढीको उच्च जोखिममा पर्दछ ।
केसलिया र यसका सहायक भंगालोहरूको माथिल्लो जलाधार क्षेत्र मोरङको उत्तरी चुरे क्षेत्रमा पर्ने केराबारी गाउँपालिकाका पहाडी खोल्साहरूसँग जोडिन्छ । मोरङको उत्तरी पहाडी सिमाना (चुरे पर्वतमाला) बाट बग्ने साना खोल्साहरू तराईतर्फ झरेपछि केसलिया नदीको रूपमा अगाडि बढ्छन्। बढ्दा दुहबी, बुढीगंगा हुँदै विराटनगरमा कोशी राजमार्ग पश्चिमका वडाहरु ६, १२, १६, १७ लाई बढी प्रभावित बनाउने गरेको छ ।
यसैगरी सिंघीया नदीको मुख्य उत्पत्तिस्थल मोरङ जिल्लाको उत्तरी क्षेत्र (चुरे पहाडी रेन्जको फेदी र भावर क्षेत्र) हो । विशेषगरी यो नदी मोरङको सुन्दरहरैंचा नगरपालिका (साविकका दुलारी, हरैंचा र हात्तीमुडा क्षेत्र आसपास) तथा चुरे क्षेत्रका साना खोल्साखोल्सी र भूमिगत पानी पलाएर सुरु हुन्छ । यो नदी मुख्य रूपमा मोरङ जिल्ला र यसको तल्लो तटीय क्षेत्र भई बग्दछ। यसले सुनसरी र मोरङको औद्योगिक कोरिडोरलाई समेत छुन्छ। सिंघीया नदी बग्ने मुख्य स्थानीय तहहरू सुन्दरहरैंचा नगरपालिका (उत्पत्ति तथा सुरुवाती बहाव क्षेत्र) बूढीगंगा गाउँपालिका (मध्य बहाव क्षेत्र) विराटनगर महानगरपालिकाको पूर्वी क्षेत्रमा यसको मुख्य वहाव क्षेत्र मानिन्छ । पूर्वतर्फ कटहरी, जहदा गाउँपालिका हुँदै यो दक्षिणी सीमानाबाट भारतको बिहारमा पुग्छ ।