विराटनगर । विराटनगरमा पोड वे यातायात स्थापनाका लागि एक साता भित्रै कार्यालय स्थापना गरिने भएको छ । परियोजना कम्पनीले विराटनगरमा काम थालेको हो । काठमाडौँ पोडवे कम्पनीका उपाध्यक्ष नील राज भट्टराईका अनुसार अब एकसाता भित्रै कार्यालय स्थापना हुनेछ । त्यस बाहेक पोडवे यातायातका लागि विस्तृत अध्ययन प्रतिवेदनको काम थाल्ने बाटो समेत खुलेको छ ।
नेपाल सरकारको नियमानुसार बुझाउनुपर्ने कुल परियोजना लागतको ०.१ प्रतिशत बैंक ग्यारेन्टी बिहीबार औपचारिक रूपमा कोशी प्रदेश लगानी प्राधिकरणलाई परियोजना कम्पनीले हस्तान्तरण गरेसँगै डिपिआर गर्ने बाटो खुलेको हो । विराटनगर रानीदेखि बसपार्कसम्म सात किलोमिटरका लागि परियोजना लागत ६ अर्ब अनुमान गरिएको छ । यसको ०.१ प्रतिशत ६० लाख रुपैँया कार्यसम्पादन जमानत प्राप्त भएको कोशी लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.सरोज कोइरालाले जानकारी दिएका छन् ।
सार्वजानिक–निजी साझेदारी अवधारणामा कार्यन्वयनका लागि अघि बढाइएको परियोजनाको विस्तृत अध्ययन प्रतिवेदनका लागि बाटो खुलेको हो । कम्पनीले लक्ष्मी सनराइज बैंक लि.मा जम्मा गरिएको अमेरिकन डलर ४५ हजार १०० जमानत बुझाएको प्राधिकरणले जानकारी दिएको छ ।
त्यस अवसरमा केन्द्रीय लगानी बोर्डका प्रतिनिधिहरू, सहसंस्थापक टीका प्रसाद उप्रेती, लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइराला, केन्द्रीय लगानी बोर्डका प्रतिनिधि मुक्ता पाण्डे, मनिराम महतलगायत अन्य उच्चपदस्थ कर्मचारी तथा प्रतिनिधिहरूको संयुक्त उपस्थिति रहेको उपाध्यक्ष भट्टराईले जानकारी दिएका छन् ।
उनका अनुसार अब बढीमा एक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेर बुझाइने छ । त्यसलगत्तै निर्माण कार्य थालनी गर्ने र पहिलो चरणमा सात किलोमिटरको काम गर्ने भनिएपनि यसलार्य धनकुटाको भेडेटारसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ । उपाध्यक्ष भट्टराईका अनुसार पोड वे यातायात सञ्चालनका लागि कोशी राजमार्गको मेडियन स्ट्रिप्सलाई प्रयोग गर्नेगरी स्वीकृत प्राप्त भएको छ । यहि विषयमा विराटनगरमा कम्पनीले यातायात व्यवसायीसँग छलफल आयोजना गर्ने समेत तयारीमा जुटेको छ ।