विराटनगर । विराटनगर वार्ड कप थ्री–अन–थ्री बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको पुरुषतर्फ वडा नं. ११ र महिलातर्फ वडा नं. १२ ले उपाधि जितेका छन्। रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नं. ११ ले वडा नं. १० लाई २१–१६ को स्कोरले पराजित गर्दै पुरुषतर्फको उपाधि हात पारेको हो। यसअघि भएको सेमिफाइनलमा वडा नं. ११ ले वडा नं. १५ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने वडा नं. १० ले वडा नं. ५ लाई हराएर फाइनलको यात्रा तय गरेको थियो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. ११ का महिम दाहाल पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी (एमभीपी) घोषित भए। यता, महिलातर्फको प्रतियोगिता ‘बेस्ट अफ थ्री’ प्रणालीमा खेलाइएको थियो।
वडा नं. ११ र वडा नं. १२ बीच भएको प्रतिस्पर्धामा पहिलो खेल वडा नं. १२ ले जितेको थियो भने दोस्रो खेल वडा नं. ११ ले जित्दै खेल बराबरीमा पुर्याएको थियो।निर्णायक तेस्रो खेलमा वडा नं. १२ ले वडा नं. ११ लाई १६–८ को स्कोरले पराजित गर्दै महिलातर्फको उपाधि जित्न सफल भयो। महिलातर्फ वडा नं. १२ की आरती लिम्बु सर्वोत्कृष्ट खेलाडी घोषित भइन्।
प्रतियोगिताका विजेता तथा उपविजेता टोली र उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। पुरस्कार वितरण समारोहमा जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनका मेडिकल डाइरेक्टर एवं वेलनेस डेन्टल एन्ड एस्थेटिक्सका प्रबन्ध निर्देशक डा. अभिनव श्रेष्ठ, ओली एन्ड एसोसिएट्सका प्रबन्ध निर्देशक रञ्जन कुमार शाही, कार्यकारी निर्देशक निश्चल चौधरी तथा बीबीएका अध्यक्ष सरोज लम्साललगायतको आतिथ्यता रहेको थियो। आयोजकका अनुसार प्रतियोगिताले विराटनगरमा स्थानीयस्तरमा बास्केटबल खेलको प्रवर्द्धन गर्नुका साथै नयाँ खेलाडीको क्षमता विकासमा समेत योगदान पुर्याएको छ।