विराटनगर, असोज १८
झापाको मेचीनगरबाट प्रहरीले प्रतिबन्धित भारतीय चिट्ठा (लट्री) र नगद रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ।
मेचीनगर नगरपालिका–६ काँकरभिट्टा निवासी ४५ वर्षीय गेलु शेर्पाले आफ्नै घरमा प्रतिबन्धित भारतीय चिट्ठा राखी बिक्री-वितरण गरिरहेको गुप्त सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शेर्पाको घरमा खानतलासी गर्दा "Royal" लेखिएको भारतीय चिट्ठा १३ बुन्डा (कुल १,३०० थान) बरामद गरेको छ।
यस्तै, उनको घरबाट नेपाली नगद रु ३६,५०० (छत्तीस हजार पाँच सय) समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्रनाउ) रुज्जन अवाले जानकारी दिनुभयो।
पक्राउ परेका शेर्पामाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।