विराटनगर, असोज १९
सुनसरीको इनरुवाबाट प्रहरीले भारी परिमाणको लागूऔषध गाँजासहित एक थान ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ।
इनरुवा नगरपालिका–३ स्थित सखुवागाछीबाट ट्राफिक प्रहरी कार्यालय इनरुवा र अस्थायी प्रहरी पोष्ट सखुवागाछीको संयुक्त चेकिङ टोलीले गएराति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रकबाट २५ क्विन्टलभन्दा बढी गाँजा बरामद गरेको हो।
प्रहरीले शङ्का लागेर उक्त ट्रकलाई रोकी जाँच गर्दा बन्दाकोबीले छोपेर ल्याइएको अवस्थामा प्लाष्टिकका ८३ वटा बोरामा राखिएको कुल २ हजार ५ सय ६६ किलोग्राम ५६० ग्राम (२,५६६.५६ किलो) गाँजा फेला पारेको थियो।
गाँजा बरामद भएसँगै प्रहरीले ओसारपसारमा संलग्न ट्रक चालक धनकुटाको सहिदभूमि गाउँपालिका–२ का राजु राई र सहचालक सोही स्थानका सन्दीप राईलाई नियन्त्रणमा लिएको छ।
गाँजा, ट्रक र पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।