विराटनगर । विराटनगर महानगरपालिकामा खानेपानी वितरण प्रणालीको क्षमता दैनिक एक करोड लिटर बढी पुगेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को दुई अब ५४ करोड रुपिँयाको अनुदान सहयोगमा सञ्चालित परियोजनाको काम ९८ प्रतिशत सम्पन्न भइसकेको छ । दुईवर्ष अगाडी सुरु भएको परियोजना हस्तान्तरण हुन २५ दिन बाँकी रहेको छ ।
खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार अबका २५ दिनमा परियोजना हस्तान्तरण हुनेछ । निर्माणको काम सम्पन्नउन्मुख रहेको छ । अहिले पानीको नयाँ वितरण प्रणाली परीक्षणको काम भइरहेको रौनियारले जानकारी दिएका छन् ।
निर्माण गर्ने पक्षले परीक्षण गरिसकेपछि त्यसलाई एकिकृत वितरण प्रणालीमा जोडिनेछ । जुन खानेपानी संस्थानले दैनिक वितरण गर्ने प्रणाली हो । रौनियारका अनुसार यी सबै काम अब २५ दिनभित्र सम्पन्न हुनेछ । नयाँ परियोजना सञ्चालनमा आउन थालेपछि सहरका २५ हजार घरमा पानी पुग्नेछ ।
परियोजनाअन्तर्गत खानेपानी उत्पादन, प्रशोधन र वितरण प्रणालीको क्षमता विस्तार भएको छ । पुराना संरचनाको सुधारसँगै नयाँ ओभरहेड ट्याँङकी निर्माण, पाइपलाइन तथा बिद्युत आपूर्ति प्रणालीसँगै क्षमता बृद्धि गरिएको छ । यो परियोजना अन्तर्गत विराटनगर–५ कोचाखालमा नयाँ ओभरहेड ट्याँङ्की निर्माण गरिएको छ । त्यस बाहेक विराटनगरको देवकोटा चौक, तीनपैनी, मुनालपथमा स्तरोन्नती गरिएको छ । अहिले विराटनगरमा दैनिक १३ हजार २०० उपभोक्ता खानेपानी संस्थानको धाराको पानी प्रयोग गर्दै आएका छन् । त्यस बाहेक निजी क्षेत्रको मानगढ खानेपानीको साढे छ हजार रहेका छन् ।