विराटनगर । सीमावर्ती भारतीय बजार जोगबनीमा चाडपर्व लक्षित खरिदारी रोक्न विराटनगरमा ‘विराट ट्रेड फेयर’ बिहीबारदेखि शुभारम्भ हुँदैछ । जसले पर्व लक्षित सीमापार बजारमा हुने खरिदलाई रोक्दै पुँजी पलायनबाट जोगाउने अपेक्षा राखिएको छ ।
विराट व्यापार संघको आयोजनामा विराटनगरस्थित जैन भवन परिसरमा बिहीबार देखि (असोज २२ देखि ३० गतेसम्म) अर्को शुक्रबार ९ दिन विराट ट्रेड फेयर सञ्चालन हुनेछ । आयोजक विराट व्यापार संघले यसको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।
संघले १५ वर्षपछि दोस्रोपटक विराटनगरमा यति ठूलो स्तरको व्यापार मेला आयोजना गर्न लागेको हो। मेलाको औपचारिक उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नेछन् ।
मेलाबाट १ अर्ब रुपैयाँ बराबरको कारोबार हुने दावी गरिएको छ । जसमा मेलास्थलको कारोबार १६ करोड ५० लाख हुने अनुमान गरिएको छ । तर, ट्रेड फेयरमा आउने सेवाग्राहीले बाँकी बजारको चहलपहल बढाउँदा त्यहाँ समेत कारोबार हुने अनुमान गरिएको छ ।
मेला परिसरभित्र राखिएका स्टलहरूबाट मात्रै १६ करोड ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष खरिदबिक्री हुने अनुमान छ। जसमा मुख्य डोमभित्रका व्यावसायिक स्टलबाट ८ करोड, अटोमोबाइल क्षेत्रबाट ६ करोड, घरेलु तथा साना उद्यमीका स्टलबाट २ करोड, फुड स्टलबाट २० लाख र अन्य गतिविधिबाट ३० लाख रुपैयाँ कारोबारको लक्ष्य राखिएको छ।
संघका अध्यक्ष प्रमोद अग्रवाल (जिन्दल) ले मेलाले विराटनगरको समग्र अर्थतन्त्रमा पार्ने बहुआयामिक प्रभावलाई १ अर्ब रुपैयाँ बराबरको आर्थिक चहलपहल हुने दावी गरेका छन् । चाडपर्वका बेला सीमापारि जाने उपभोक्तालाई विराटनगरमै रोक्दा नगरभित्रका पसल, होटल, रेस्टुरेन्ट र यातायातलगायत समग्र बजारमा १ अर्ब रुपैयाँ बराबरको आर्थिक गतिविधि चलायमान हुने विश्लेषण गरिएको हो।
विराटनगरको बजार सुनसान, जोगबनी बजार गुलजार भन्ने विगतका भनाईलाई यसवर्ष चिर्ने आयोजकको दावी छ । आयोजनामा करिब ७५ लाख रुपैयाँ खर्च हुने र स्टल, प्रायोजन तथा टिकट बिक्रीबाट करिब ८० लाख रुपैयाँ आम्दानी हुने आयोजकको अनुमान छ।
के के हुनेछ मेलामा
‘चाडपर्वको उत्सव, व्यापारको महोत्सव’ नारासहित मेलास्थलमा एकसय १० स्टल रहनेछन् । मुख्य डोमभित्र ७८ देखि ८० वटा व्यावसायिक स्टल हुनेछन् । अटोमोबाइल र खाद्यान्नका स्टलहरू परिसरको पुरानो भवन क्षेत्रमा रहनेछन्। घरेलु तथा साना उद्यमीलाई ढाकाका कपडा, अल्लो, मह, अचार तथा प्रसिद्ध भोजपुरे खुकुरी प्रदर्शनी एवं बिक्रीका लागि ३० वटा स्टल निःशुल्क उपलब्ध गराइएको छ।
उपभोक्तालाई राहत दिन दुग्ध विकास संस्थान (डीडीसी) ले डिलर मूल्यमा १० प्रतिशत छुट तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी र चामल छुट मूल्यमा उपलब्ध गराउनेछन्। मेला अवलोकनका लागि ५० रुपैयाँको सुलभ टिकट तोकिएको छ, जसमा दैनिक उपहारका साथै बम्पर उपहारका रूपमा एकजनालाई ईभी (विद्युतीय) स्कुटर प्रदान गरिनेछ।
बालबालिका तथा युवा पुस्तालाई आकर्षित गर्न पहिलोपटक रोबोट प्रदर्शन, एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिको अनुभव र पूर्वका पर्यटकीय क्षेत्र तथा दुर्गा पूजा झल्कने ‘स्मार्ट सेल्फी जोन’ निर्माण गरिएको छ। हरेक दिन साँझ अस्मिता अधिकारी, महेश काफ्ले, राजनराज शिवाकोटी, एलिना चौहान, रचना रिमाल लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ। मेलामा ‘आँखादान महादान’ अभियान र जिल्ला प्रहरी कार्यालय मोरङको लागुऔषध न्यूनीकरण सचेतनाका लागिसमेत निःशुल्क स्टल राखिएको छ। मेलालाई विराटनगर महानगरपालिका, कोशी प्रदेश सरकार, नेपाल उद्योग वाणिज्य महासंघ तथा उद्योग संगठन मोरङलगायतका संस्थाहरूले सहकार्य गरेका छन्।