विराटनगर । १४ औँ राष्ट्रिय पौडी प्रतियोगिता (एनएसए कप) मा कोशी प्रदेशका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ५ स्वर्ण, ३ रजत र २ कांस्य गरी कुल १० वटा पदक हात पार्न सफल भएका छन्। ललितपुरको सातदोबाटोस्थित हिट स्विमिङ पुलमा सम्पन्न प्रतियोगितामा कोशीका खेलाडीहरूले विभिन्न विधामा कडा प्रतिस्पर्धा गर्दै ऐतिहासिक नतिजा निकालेका हुन्।


प्रतियोगितामा सिशोमबुन राईले एक्लै चार स्वर्ण र एक रजत पदक जितेका छन्। उनले ५० मिटर, १०० मिटर र २०० मिटर बटरफ्लाईका साथै ४०० मिटर फ्रिस्टाइलमा स्वर्ण र ४०० मिटर आईएम (व्यक्तिगत मेडल) मा रजत पदक प्राप्त गरे।
यसैगरी, आरोन भण्डारीले २०० मिटर आईएममा १ स्वर्ण, १०० मिटर आईएम र २०० मिटर फ्रिस्टाइलमा २ रजत तथा १०० मिटर ब्रेस्टस्ट्रोकमा १ कांस्य पदक जितेका छन्। त्यस्तै, महिलातर्फ आयुषा पौडेलले ब्याकस्ट्रोक विधामा १ कांस्य पदक प्राप्त गरिन्। राष्ट्रिय स्तरको यस प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूले हासिल गरेको यो सफलताले यस क्षेत्रमा पौडी खेलको उच्च सम्भावना र खेलाडीहरूको क्षमतालाई थप उजागर गरेको छ।