विराटनगर । बेड तथा म्याट्रेसका विभिन्न उत्पादन एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यसहित विराटनगरमा फोर स्टार म्याट्रेस स्टुडियो सञ्चालनमा आएको छ। विराटनगर–३ गोग्राह चोकमा स्थापना गरिएको स्टुडियोमा करिब एक करोड रुपैयाँ लगानी गरिएको सञ्चालकले बताएका छन्।
स्टुडियोमा ग्राहकको आवश्यकता र बजेटअनुसार १० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्मका बेड, म्याट्रेस तथा आरामदायी निद्राका लागि आवश्यक सामग्री उपलब्ध हुनेछन्। बेड र म्याट्रेसलाई मात्रै केन्द्रमा राखेर स्थापना गरिएको यो स्टुडियो नेपालकै पहिलो भएको सञ्चालक दिवश बजगाईंको दाबी छ।



नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले स्टुडियोको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा उनले स्वदेशी उत्पादनको प्रयोग बढाउँदै स्थानीय उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। स्वदेशी वस्तुको उपभोगले उद्योगको विकास, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।

फोर स्टार म्याट्रेस कम्पनीका अध्यक्ष ताराबहादुर कट्वालले मानिसको स्वास्थ्य र आरामसँग प्रत्यक्ष जोडिएको ओछ्यानको गुणस्तरलाई प्राथमिकता दिनुपर्ने बताए। दैनिक करिब आठ घण्टा बिताउने ओछ्यान आरामदायी निद्राका लागि महत्त्वपूर्ण हुने भएकाले ग्राहकलाई विभिन्न विकल्प उपलब्ध गराउन स्टुडियो सञ्चालनमा ल्याइएको उनले बताए।
‘आठ घण्टा आरामको साथी भनेको ओछ्यान हो, तर यसलाई अझै पनि बेवास्ता गर्ने गरिएको छ,’ कट्वालले भने, ‘विश्व बजारमा उपलब्ध विभिन्न प्रकारका उत्पादन नेपाली ग्राहकलाई उपलब्ध गराउनु हाम्रो उद्देश्य हो।’ उनका अनुसार कम्पनीले आफ्ना उत्पादनमा वारेन्टी तथा ग्यारेन्टीको व्यवस्था गरेको छ। गुणस्तरीय स्वदेशी उत्पादनसँगै ग्राहक सेवालाई पनि प्राथमिकता दिइएको उनले बताए।


सुनसरीको इटहरीमा एक दशकदेखि सञ्चालन हुँदै आएको फोर स्टारले व्यवसाय विस्तार गर्ने क्रममा विराटनगरमा नयाँ स्टुडियो खोलेको हो। सञ्चालक बजगाईंका अनुसार ग्राहकको माग र बजारको सम्भावनालाई ध्यानमा राखेर आगामी दिनमा लगानी थप गर्ने योजना छ।स्टुडियो सञ्चालनमा आएसँगै विराटनगर तथा आसपासका क्षेत्रका उपभोक्ताले विभिन्न मूल्य र गुणस्तरका बेड तथा म्याट्रेस एउटै स्थानबाट छनोट गर्न सक्ने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा फोर स्टारकी ब्रान्ड प्रतिनिधि सम्भावना भण्डारी, विराटनगर महानगरपालिका–३ का वडाध्यक्ष बासुबहादुर बस्नेतलगायतको उपस्थिति थियो।