सोनु साह,
विराटनगर । विराटनगरको ऐतिहासिक काली मन्दिरमा महाअष्टमीको अवसरमा आज राति १२ बजेदेखि विशेष पूजासहित बलि प्रदान गरिने भएको छ। काली मन्दिरमा कालरात्रि पूजा, निस्सा पूजा र ठेहा पूजा सम्पन्न भएपछि बलि प्रदान सुरु हुने मन्दिर समितिका सदस्य दीपक नेपालले जानकारी दिए।
नेपालका अनुसार सप्तमीका दिन शनिबार पनि मन्दिरमा बलि प्रदान गरिएको थियो। तर, अष्टमीको राति कालरात्रिको विशेष पूजा गरी बलि दिने परम्परा रहेकाले यस रातलाई विशेष महत्त्वका साथ लिने गरिन्छ।
आज मध्यरातदेखि सुरु हुने बलि प्रदानमा करिब ३ हजार बोका र ५ हजार हाँस–कुखुरा चढाइने अनुमान गरिएको नेपालले बताए। उनका अनुसार बलि प्रदानका लागि भक्तजनहरू रातिदेखि नै लाइनमा बस्न थालेका छन्।
महाअष्टमीका अवसरमा आइतबार बिहानदेखि मन्दिरमा खोइछ भराइ कार्यक्रमसमेत सञ्चालन भएको छ। नेपालका अनुसार बिहानैदेखि लड्डु चढाउने र खोइछ भर्न आउने भक्तजनको भीड लागेको थियो। आज मात्रै करिब १० हजार भक्तजनले काली मन्दिरको दर्शन गरेको उनले जानकारी दिए।
नवरात्रको आठौँ दिन महाअष्टमीका अवसरमा देशभरका शक्तिपीठहरूमा देवी दुर्गाको विशेष पूजा–आराधना गरिन्छ। यस दिन शक्तिस्वरूपा देवीको उपासना गर्दै परम्पराअनुसार बलि प्रदान गर्ने चलन छ। यस वर्ष अष्टमी तिथि दुई दिन परेकाले पनि धार्मिक गतिविधि जारी रहेका छन्।
महाअष्टमीको अवसरमा विराटनगरको काली मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ।