सोनु साह,
विराटनगर । प्रत्येक वर्ष महानवमीका दिन आयोजना हुँदै आएको निशान ध्वज यात्रा यस वर्ष पनि विराटनगरस्थित काली मन्दिरबाट रंगेलीस्थित काली मन्दिरतर्फ प्रस्थान गरेको छ। धार्मिक आस्था र परम्परासँग जोडिएको उक्त यात्रामा यस वर्ष ८ हजारभन्दा बढी श्रद्धालु भक्तजन सहभागी भएको आयोजकले जनाएको छ।


विराटनगरस्थित काली मन्दिरबाट सुरु भएको यात्रा रंगेलीस्थित काली मन्दिरसम्म करिब २२ किलोमिटरको पैदल दूरी पार गरेर पुग्नेछ। बिहानदेखि सुरु भएको यात्रामा विभिन्न उमेर समूहका व्यक्ति तथा समुदायका श्रद्धालु भक्तजन सहभागी छन्।
यात्राका क्रममा भक्तजनको सहजताका लागि विभिन्न स्थानमा विश्रामस्थलको व्यवस्था गरिएको छ। साथै, यात्रामा सहभागीलाई जल तथा चियासहितका आवश्यक सुविधासमेत उपलब्ध गराइएको आयोजकले जनाएको छ। करिब तीनदेखि चार घण्टामा सम्पन्न हुने अपेक्षा गरिएको यात्रा रंगेलीस्थित काली मन्दिरमा विशेष पूजापाठ गरेपछि औपचारिक रूपमा सम्पन्न हुनेछ।


दशौँ निशान ध्वज यात्रा पैदल यात्रा व्यवस्थापन मूल समारोह समितिका संयोजक मनोज अग्रवालका अनुसार यो यात्रा विगत १० वर्षदेखि प्रत्येक वर्ष महानवमीका दिन निरन्तर आयोजना हुँदै आएको छ।
सुरुका वर्षमा करिब ४०० देखि ५०० जनाको सहभागितामा सुरु भएको यात्रामा यस वर्ष ८ हजारभन्दा बढी भक्तजन सहभागी भएको उनले जानकारी दिए। अग्रवालले यात्राका क्रममा विभिन्न स्थानमा विश्रामको व्यवस्था मिलाइएको पनि बताए।
धार्मिक आस्था, सामाजिक सद्भाव र परम्पराको निरन्तरतासँग जोडिएको निशान ध्वज यात्राले विराटनगर र रंगेलीबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।