विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वडा दसैँ तथा विजयादशमी, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री कार्कीले विजयादशमीका अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै दसैँले सामाजिक सद्भाव, सहिष्णुता, प्रेम र एकताको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा उनले विजयादशमी नेपालीहरूको महान् पर्व भएको उल्लेख गर्दै टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने मौलिक परम्पराले पारिवारिक आत्मीयता र आपसी सम्मान अभिवृद्धि गर्दै सांस्कृतिक सम्बन्धलाई पुस्तान्तरण गर्न मद्दत पुर्याएको बताएका छन्।
मुख्यमन्त्री कार्कीले दसैँजस्ता पर्वले विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराका नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, प्रेम र एकताको भावना बलियो बनाउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरेका छन्।
उनले मौलिक चाडपर्व धार्मिक तथा सांस्कृतिक आस्थाका प्रतीक मात्र नभई सामाजिक एकता, राष्ट्रिय पहिचान र साझा नेपालीपनका आधारसमेत भएको बताएका छन्।
कोशी प्रदेशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधतालाई प्रदेशको अमूल्य सम्पत्तिका रूपमा उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले मौलिक सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमार्फत विविधताभित्रको एकतालाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
अन्त्यमा उनले विजयादशमीले सबैलाई सत्य, न्याय, सदाचार र सकारात्मक सोचको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्दै सद्भाव, सहकार्य र एकताका साथ समृद्ध कोशी प्रदेश तथा समुन्नत नेपाल निर्माण गर्ने साझा संकल्प थप बलियो बन्ने विश्वास व्यक्त गरेका छन्।