विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका सम्पूर्ण खेल विराटनगरमा निःशुल्क प्रत्यक्ष प्रसारण गरिने भएको छ। क्रिकेटप्रेमीलाई प्रतियोगिताका खेल सामूहिक रूपमा हेर्ने अवसर प्रदान गर्ने उद्देश्यले एक्सटिम ईन्रजीले यस्तो व्यवस्था गर्न लागेको हो।
आयोजकका अनुसार कात्तिक ९ गतेदेखि विराटनगरस्थित पुरानो गुद्री मैदानमा ठूलो डिजिटल स्क्रिनमार्फत एनपीएलका खेल निःशुल्क प्रदर्शन गरिनेछ। यसबाट विराटनगरका क्रिकेटप्रेमीले मैदानमै भेला भएर प्रतियोगिताका रोमाञ्चक खेलको प्रत्यक्ष आनन्द लिन सक्नेछन्।
स्थानीयस्तरमा क्रिकेटप्रतिको आकर्षण बढाउने, खेलप्रेमीबीच आपसी सद्भाव अभिवृद्धि गर्ने तथा स्थानीय टोली विराटनगर किंग्सलाई समर्थन गर्न दर्शकलाई एकै ठाउँमा जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। निःशुल्क प्रत्यक्ष प्रसारणको व्यवस्थाले विराटनगरमा एनपीएलको रौनक थप बढ्ने र उल्लेख्य संख्यामा क्रिकेटप्रेमी सहभागी हुने अपेक्षा गरिएको छ।