धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोसी नदीमा मोटर बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना यात्रु बोकेर सुनसरीको चतरातर्फ जाँदै गरेको ओबीएम कम्पनीको मोटर बोट ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर पाएलगत्तै प्रहरी चौकी बराहक्षेत्र, सुनसरीबाट खटिएको प्रहरी टोलीले चालकसहित १२ जनाको उद्धार गरी उपचारका लागि चतरा अस्पताल पठाएको थियो। अस्पताल पुर्याइएकामध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की ५२ वर्षीया लिला राई, करिब ६–७ वर्षीया बालिका र अन्दाजी ४०–५० वर्षका एक पुरुष रहेका छन्। मृतक बालिका र पुरुषको नाम तथा ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका भोजपुरको हतुवागढी गाउँपालिका–४ का ३१ वर्षीय मोहन सुनारको चतरा अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
मोटर बोटका चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का २४ वर्षीय सुमन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा सकुशल रहेका विष्णु सुनार, तीर्था रसाइली सुनार, पूजा तिरुवा, प्रज्वल तिरुवा, देवेन्द्र राई, रञ्जित राई र निता मगर घर फर्किसकेको प्रहरीले जनाएको छ। यस्तै, दुर्घटनापछि नदीमा बेपत्ता हुनेमा झापाको कनकाई नगरपालिका–४ की निता मगरका ७ वर्षीय छोरा शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की २१ वर्षीया प्रमिला मगर र सोही स्थानकी २२ वर्षीया मनु राई रहेका छन्।
बेपत्ता तीनै जनाको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी र धनकुटाका नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। नदीमा बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको छ।