मनोज खत्री मृत्यु प्रकरण : रेस्टुरेन्टमा कार्यरत युवती पक्राउ, पाँच दिन म्याद थप

<span class='c1'>मनोज खत्री मृत्यु प्रकरण : रेस्टुरेन्टमा कार्यरत</span> <span class='c2'>युवती पक्राउ, पाँच दिन म्याद थप</span>

विराटनगर । विराटनगरस्थित ‘पिजफायर’ रेस्टुरेन्टका सञ्चालक ५१ वर्षीय मनोज खत्रीको मृत्यु प्रकरणमा प्रहरीले रेस्टुरेन्टको हिसाबकिताब हेर्दै आएकी एक युवतीलाई पक्राउ गरेको छ। खत्रीको परिवारले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले युवतीलाई नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अघि बढाएको हो।

पक्राउ पर्नेमा झापा घर भएकी २७ वर्षीया खिलिना दाहाल (इन्दु) रहेकी छन्। उनी विगत चार–पाँच वर्षदेखि खत्रीको रेस्टुरेन्टमा कार्यरत थिइन् र रेस्टुरेन्टको आर्थिक कारोबार तथा लेखा व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार परिवारको जाहेरीपछि दाहाललाई नियन्त्रणमा लिइएको हो। प्रहरीले उनलाई आइतबार अदालतमा उपस्थित गराई पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा खत्री र दाहालबीच व्यक्तिगत सम्बन्ध तथा आर्थिक कारोबारका विषयमा खटपट रहेको देखिएको छ। उनीहरूबीचको व्यक्तिगत सम्बन्धमा आएको उतारचढाव र रेस्टुरेन्टको आर्थिक हिसाबकिताबमा कुनै अनियमितता भए–नभएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको एसपी कटुवालले बताए।

दाहालले रेस्टुरेन्टको सम्पूर्ण हिसाबकिताब आफूले हेर्दै आएको स्वीकार गरे पनि आर्थिक अनियमितता नगरेको र खत्रीलाई ब्ल्याकमेलिङ वा तनाव नदिएको दाबी प्रहरीसमक्ष गरेकी छन्। पछिल्लो समय आफूहरूबीच सामान्य मनमुटाव भएको र करिब १० दिनदेखि खत्रीले अत्यधिक मदिरा सेवन गर्ने गरेको उनको बयानमा उल्लेख छ।

यद्यपि, घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले खत्री र दाहालका मोबाइल फोनलगायत डिजिटल उपकरणको प्राविधिक परीक्षण गरिरहेको छ। प्रहरीले पोस्टमार्टम रिपोर्ट, डिजिटल परीक्षण र अन्य प्रमाणका आधारमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

विराटनगर महानगरपालिका–३ निवासी खत्री गत शुक्रबार दिउँसो करिब १ बजे स्कुटर लिएर घरबाट निस्किएका थिए। त्यसपछि परिवारको सम्पर्कमा नआएका उनी शनिबार अपराह्न मोरङको केराबारी गाउँपालिका–९ स्थित धारापानी जंगलमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। उनी चढेर गएको स्कुटर भने अझै फेला परेको छैन।

खत्रीका श्रीमती, एक छोरा र एक छोरी छन्। घटनाका बेला भारतमा रहेकी उनकी श्रीमती फर्किएपछि परिवारको उपस्थितिमा शव परीक्षण प्रक्रिया अघि बढाइएको थियो। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खत्रीको शव पोस्टमार्टम गरिएको छ।

प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट, प्राविधिक विश्लेषण तथा अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा मृत्युको वास्तविक कारण खुल्नेछ। घटनामा पक्राउ परेकी दाहालमाथि अनुसन्धान जारी रहेकाले उनलाई दोषी ठहर गर्ने निष्कर्षमा पुग्न भने अनुसन्धानबाट प्राप्त प्रमाण र कानुनी प्रक्रियाको प्रतीक्षा गर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्